सैन्य एकेडेमीमा आक्रमण, ठूलो मात्रामा गोली हानाहान
अफगानिस्तानको राजधानी काबुलमा रहेको सैन्य एकेडेमीमा बिद्रोहीले आक्रमण गरेका छन् । सैन्य एकेडेमीमा ठूलो मात्रामा गोली हानाहान भएको तथा विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मार्शल फाहिम राष्ट्रिय सुरक्षा विश्वविद्यालयमा सोमबार बिहानै आक्रमण भएको हो । अहिले पनि गोली हानाहान तथा बम विस्फोटको आवाज आइरहेको छ ।
स्थानीय समय अनुसार सोमबार बिहान पाँच बजेदेखि सैन्य एकेडेमीमा आक्रमण सुरु भएको हो । सुरक्षाकर्मीले आक्रमण भएको क्षेत्रमा आवतजावतमा रोक लगाएको टोलो समाचार संस्थाले जनाएको छ । हताहतीको विवरण भने आइसकेको छैन । शनिबार काबुलमा एम्बुलेन्समा विस्फोटक पदार्थ राखेर भएको आत्मघाति बम विस्फोटमा १०० जनाको ज्यान गएको थियो । अहिले फेरि सैन्य एकेडेमीमा आक्रमण भएको हो । बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) र तालिबानले यस्तो खालका आक्रमण गर्ने गरेका छन् । बिबिसी