Logo
२४ पुस २०८१, बुधबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोगले उम्मेदवारलाई चुनाव चिन्ह् दिँदै, प्रदेश २ मा निर्वाचन नहुने

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्दैछ । राष्ट्रियसभा सदस्य निर्वाचन माघ २४ गते हुँदैछ । तर प्रदेश नम्बर २ मा भने निर्वाचन नहुने भएको छ । त्यहाँका सबै उम्मेदवार निरविरोध नै निर्वाचित हुनेछन् । आवश्यक भन्दा बढी अन्य दावेदारहरुले उम्मेदवारी फिर्ता लिएपछि त्यहाँ निर्वाचन नहुने भएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ५०६ तथा ५५० प्रदेशसभा सदस्य मतदाता छन् । दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र त्यसपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यो निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, प्रदेश नं ३ को पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा निर्वाचन केन्द्र तोकिएको छ ।  प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचनमा नौ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य समूहका २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १५ उम्मेदवार बनेका छन् ।

निर्वाचनबाट तीन महिला, एक दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एकसहित प्रत्येक प्रदेशबाट आठजनाका दरले राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेछन् । ५९ सदस्यीय राष्ट्रियसभामा तीनजना भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ । यो निर्वाचन भई राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै संघीय संसदले पूर्णता पाउनेछ ।

 

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्