Logo
३१ भाद्र २०८१, सोमबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय दुतावासमा उपेन्द्र यादव त पुगे तर केपि ओली पुगेनन्

काठमाडौं : भारतको ६९ औं गणतन्त्र दिवसको अवसरमा नेपालका लागि भारतीय दूतावासले प्रत्येक वर्ष झै यस वर्ष पनि आयोजना गरेको भेटघाट तथा दिवा भोज कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई दुई–दुई पटक फोन गरेपछि भारत र ओलीबीचको सम्बन्धको बारेमा निकै चर्चा भएको थियो । तर, शुक्रवार दूतावासको कार्यक्रममा ओली सहभागीता भने देखिएन ।

एमालेका अन्य नेताहरु देखिएपनि सबैको चासो ओली किन अएनन् भन्ने थियो । एमाले सचिव प्रदिप ज्ञावालीले उहाँ उपत्यका बाहिर भएका कारण आउन नसकेको बताए । ‘उहाँ त्यस्तो जानेरै नआएको होइन पुर्व निर्धारित पार्टीको एक कार्यक्रममा उहाँ पोखरा जानुभएको छ’ । भारतीय दुतावास स्थित कार्यक्रम स्थलमा भेटिएका ज्ञावालीले भने ‘गणतन्त्र दिवस जस्तो शुभ खवसरमा कुनै रिस–रागको त कुरै भएन नी, गणतन्त्र जहाँसुकैको होस् यो एउटा उत्सव हो’ । तर दूतावाससंग दुरी समबन्ध रहेको बताउने तथा भारतीय दुतावासले समेत खासै आफ्ना नमानेका भनिएका उपेन्द्र यादव भने शुक्रवार निकै प्रसन्न मुद्रामा देखिएका थिए । कार्यक्रममा यादवलाई निकै प्रसन्न मुद्रामा राजदूतले स्वागत समेत गरेका थिए ।

ओलीलाई विशेष रुपमा थियो आमन्त्रण
एमाले अध्यक्ष केपी शर्मा ओली दूतावासको कार्यक्रममा नजाँदा त्यहाँ त्यो चर्चाका विषय बनेको थियो । यसअघि भारतीय राजदूत मन्जिम्भ सिंह पुरीले ओलीलाई विशेष रुपमा आमन्त्रण गरेका थिए । पुरीसँग ओलीले आफू कार्यक्रममा आउने प्रतिवद्धता पनि जनाएका थिए । बिहिबार मात्रै पुरीले भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई पटक पटक फोन गर्नु भनेको सम्बन्ध विस्तार भएको बुझ्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा उनले भनेका थिए ‘भारत नेपालमा अब बन्ने नयाँ सरकारसँग सुमधुर र प्रगाढ सम्बन्ध राखेर जान चाहन्छ, यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाई सक्नुभएको छ, आगामी दिनमा द्धिपक्षीय सम्बन्ध अझ प्रगाढ हुन्छ, नेपालमा निर्वाचन सम्पन्न भएपछि हाम्रो प्रधानमन्त्रीले नेपालका तीनै दलका शीर्ष नेताहरुसँग टेलिफोनमा वार्ता गर्नुभएको थियो, तर यो वीचमा उहाँले दोहोर्याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो, यो पनि विशिष्ट सम्बन्धको संकेत हो ।’ राजदूत पुरीले निमन्त्रणा लिएर जाँदा ओलीले कार्यक्रममा सहभागी हुने आश्वन दिएको दूतावासको भनाई छ ।

संविधान जारी भएपछि सम्बन्धमा उतारचढाव
नेपालमा संविधान जारी भएपछि भारतसँगको सम्बन्धमा निकै उतारचढाव आएको थियो । संविधान संशोधनको विषयलाई लिएर द्धिपक्षीय सम्बन्धमा निकै तित्तता छाएको थियो । भारतले त्यो वीचमा नाकाबन्दी लगाएर गलत गरेको भन्दै अन्र्तराष्ट्रिय रुपमै कडा आलोचना ओलीले गरेका थिए । तत्कालिन प्रधानमन्त्रीको रुपमा ओली र भारतवीच निकै आरोहअवरोहको सम्बन्ध थियो । हुन त नाकाबन्दी अघिका भारतीय दुतावासको हरेक जो कार्यक्रम (डिनर तथा लञ्च) रिसेप्सनमा उनी जान्थे ।

दुतावासले आयोजना गर्ने सबै खाले डिनर तथा लञ्च रिसेप्सनमा एमालेबाट ओली उपस्थिति हुने गरेका ईतिहास छन् ।
तर नाकाबन्दीपछि उनी दुतावास पुगेको अहिलेसम्म एकिन भएको छैन । उनले अहिलेसम्म त्यसयता दुतावास परिसरमा पाईला पनि नटेकेको विशेष सूत्रको दाबी छ । तर यो बीचमा नेपाल–भारत सम्बन्धमा निकै राम्रो वातावरण बनेको छ । एमाले नेताहरुले पनि अब बन्ने सरकारले भारतसँग विशेष सम्बन्ध राखेर जाने सार्वजनिक अभिव्यक्ति दिईसकेका छन् ।

उपराष्ट्रपतिदेखि सुरक्षा प्रमुख सम्म पुगे
यता, दूतावासभित्रै इण्डिया हाउसमा भएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा, राजकिशोर यादव र शरतसिंह भण्डारीलगायत नेताको सहभागीता थियो । सेना र प्रहरी उच्च अधिकारीदेखि पत्रकार, वकिल, बुद्धिजिवीको उल्लेखनीय सहभागीता थियो ।

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्