Logo
४ आश्विन २०८१, शुक्रबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किर्ते नगरेको दावी गर्दै राज्यले धावा बोलेकोले सिलवालको आरोप (बिज्ञप्ती सहित)

काठमाडौं : नेपाल प्रहरीका पूर्व डीआईजी एवं ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालले आफू असुरक्षित रहेको दावी गरेका छन् । उनले आफूविरुद्ध राज्यले नै धावा बोलेकोले जीवन असुरक्षित रेहको दावी गरेका छन् ।  बुधबार एक विज्ञप्ती जारी गर्दै सिलवालले सरकार र राज्य संयन्त्रहरु आफूविरुद्ध लागेकाले आफू असुरक्षित भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सरकारी कागजात किर्ते गरेको अभियोग लागेका सिलवाललाई प्रहरीले इन्टरपोल मार्फत पक्राउ पुर्जी जारी गरेको छ भने नेपालका सबै प्रहरी कार्यालयहरुलाई पक्राउ गर्न निर्देशन दिएको छ। फरार अवस्थामा रहेका सिलवालले कहाँबाट विज्ञप्ति जारी गरेको उल्लेख छैन। उनले विज्ञप्तिमा आफूले किर्ते नगरेको दावी गरेका छन् । उनले सर्वोच्च अदालतमा पेश भएका फरकफरक कार्यसम्पादन मूल्यांकन फाइलहरुबारे छानविन हुनुपर्ने माग गरेका छन् ।

साथै, उनले सरकार र प्रहरी लगायत राज्यका संयन्त्रहरुले सरकारी कागजातहरु फेरबदल गरेको आरोप लगाएका छन्। सिलवालले हाल आफूलाई किर्तेको दोषी करार गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस निर्वाचनमा पराजित भएको प्रतिशोध आफ्नो करिअर समाप्त पारेर लिन लागेको आरोप लगाएका छन् । उनले यसका लागि देउवाले गृह मन्त्रालय र प्रहरीलाई लगाएर सरकारबाट बाहिरिनु अगावै यो विषयमा छानविन गर्न लगाएको उल्लेख गरेका छन् ।

सिलवालले यही सरकार रहेको अवस्थामा किर्ते मुद्दामा निष्पक्ष छानविन हुनेमा आफूलाई आशंका रहेको उल्लेख गरेका छन् । उनले अर्को सरकारले छानविन गर्ने र त्यसमा आफू सघाउन तयार रहेको उल्लेख गरेका छन् । प्रहरी महानिरीक्षक नियुक्तिका क्रममा सिलवालले आफू कार्यसम्पादन मूल्याकंनमा एक नम्बरमा रहको भन्दै प्रमाणस्वरुप पेश गरेका कागजात किर्ते गरिएकोले उक्त विषयमा छानविन गरेर दोषीलाई कारबाही गर्न प्रहरीलाई आदेश दिएको थियो । त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाल विरुद्ध पक्राउ पुर्जी जारी गरेर देशभरका प्रहरी कार्यालयमा पठाउनेदेखि इन्टरपोलमार्पत डिफ्युजन नोटिस जारी गर्नेसम्मका प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्