Logo
३१ भाद्र २०८१, सोमबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै स्थानीय तहमा शाखा विस्तार गर्ने राष्ट्रिय वाणिज्य बैंकको तयारी

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो ।

बैंकले अहिले नै १५ शाखा सञ्चालनको तयारी अवस्थामा रहेको र जनशक्ति आपूर्ति हुनासाथ ती शाखा तुरुन्त सञ्चालनमा आउने जनाएको छ । राज्यको पुनःसंरचनापछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ७५३ वटै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन सबै वाणिज्य बैंकहरुलाई निर्देशन र जिम्मेवारी दिइसकेको छ ।

समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक नयाँ संविधानअनुसार संघीय संरचनामा गइसकेकाले संघीय संरचनाअनुसार बैंकहरु रुपान्तरण भई सेवा विस्तार गर्नुपर्ने सुझाव दिनुभयो । वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक भएकाले सरकारका आर्थिक विकासका क्रियाकलापमा सहयोग पु¥याउनु यसको कर्तव्य भएको धारणा व्यक्त गर्दै उहाँले बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, “मुलुकको दिगो आर्थिक विकासका लागि कृषि, पर्यटन, जलस्रोत पूर्वाधारमा लगानी बढाउनु आवश्यक छ ।” स्थापनाकालदेखि नै वाणिज्य बंैकले ग्रामीणदेखि सहरी क्षेत्रसम्म बैंकिङ सेवा प्रवाह गरी जनताको अपार विश्वास जितेको प्रसंग उल्लेख गर्दै मन्त्री कार्कीले बैंकले विगतका कार्यको समीक्षा गरी वित्तिय क्षेत्रमा अझ प्रतिष्पर्धी हुनु आवश्यक रहेको बताउनुभयो ।

मन्त्री कार्कीले संविधानमार्फत विभिन्न तहका निर्वाचन सम्पन्न गरी मुलुकमा राजनीतिक स्थायित्व कायम हँुदै गएको र द्रुत विकास अबको लक्ष्य हो भन्नुभयो । विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले हाल ६९ जिल्लामा १८० शाखा कार्यालय, १३० एटिएम, १७ स्थानमा एक्टेन्सन काउन्टर, ९२ स्थानमा शाखारहित बैंकिङ शाखामार्फत सेवा प्रवाह गरिरहेको छ ।

बैंकले विसं २०७५ असारसम्म थप ४५ शाखा कार्यालय, ७० एटिएम र २० स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने तयारी गरेको छ । समारोहमा राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीले ७५३ स्थानीय तहमध्ये ३३२ मा मात्र वाणिज्य बैंकहरुका शाखा रहेको बताउँदै सरकारले जनतालाई दिने सेवा सहजतका लागि पनि सबै नेपालीको बैंक खाता हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मुलुकभर हाल १४९ बैंक तथा वित्तिय संस्थाका पाँच हजार २६७ शाखा रहेको बताउँदै उहाँले बैंक तथा वित्तिय सुधारका लागि हालसम्म १५८ बैंक तथा वित्तिय संस्थालाई ४० संख्यामा मर्जर गरिएको जानकारी गराउनुभयो । समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई हजार १६५ कर्मचारीबाट ग्राहकको चाहनाबमोजिम वित्तिय सेवा प्रदान गर्न प्रयत्न गरिरहेको यस बैंकले अपेक्षा गरेअनुसार ग्राहको विश्वास आर्जन गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्