Logo
४ आश्विन २०८१, शुक्रबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाले माघ दोस्रो सातादेखि भूपू सैनिक सम्मेलन गर्दै

काठमाडौँ : नेपाली सेनाले प्रदेश नं १, २ र ३ अन्तर्गतका विभिन्न जिल्लामा यस वर्षको भूपू सैनिक सम्मेलन यही माघको दोस्रो सातादेखि गर्ने भएको छ । सम्मेलनको क्रममा भूपू सैनिक र बहालवाला सैनिकका परिवारजनलाई लक्षित गरी बृहत् स्वास्थ्य शिविर सञ्चालन हुनका साथै भूपू सैनिक परिचयपत्र र निवृत्तिभरण कार्ड वितरण एवं कानूनी परामर्श सेवा प्रदान गरिने नेपाली सेनाले जानकारी दिएको छ ।

लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण, सर्वाेत्कृष्ट लघुवित्त व्यवसायीलाई पुरस्कार, ज्येष्ठ भूपू सैनिक तथा एकल महिलाको सम्मान तथा बहालवाला र भूपू सैनिकका अशक्त आश्रितलाई सम्मेलनका अवसरमा ह्विलचियर प्रदान गरिनेछ । प्रत्येक दुई वर्षमा हुने उक्त सम्मेलनको प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गर्नुहुनेछ । सम्मेलनमा सैनिक नेतृत्वबाट भूपू सैनिकका पीरमर्का र गुनासो सुनेर कल्याणकारी सेवालाई समयानुकूल बनाउन कोसिस गर्ने परम्परा रहिआएको छ ।

नेपाली सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको संयोजकत्वमा आयोजित सम्मेलनमा भूपूका अतिरिक्त पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिला, आश्रित र बहालवाला सैनिकका परिवारका सदस्यको सहभागिता रहनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकले नेपाली सेनाको कल्याणकारी बोर्डको सहकार्यमा भूपू सैनिक र तिनका आश्रितलाई सहुलियत ब्याजदरमा लघुवित्त कार्यक्रमका लागि ऋण प्रदान गर्दै आएको छ । उक्त कार्यक्रमबाट धेरै भूपू सैनिक लाभान्वित भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मुलुकमा भूपू सैनिकको संख्या करिब ६८ हजार छ ।

विश्वशान्ति स्थापनाका लागि द्वन्द्वरत मुलुकमा खटिएका शान्ति सैनिकले प्राप्त गर्ने भत्ताबाट कटौती भएको रकमबाट सञ्चालित सैनिक कल्याणकारी कोषमा हाल करिब रु ४० अर्ब रकम रहेको छ । उक्त रकमको ब्याजबाट नेपाली सेनाले भूपू सैनिकलगायतका हितकारीलाई विभिन्न सहयोग र राहतका कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । सम्मेलनका क्रममा भूपू सैनिकबाट परेड प्रस्तुत गर्नुका साथै आ–आफ्नो क्षेत्रको वेशभूषा झल्कने सांस्कृतिक कार्यक्रम र गीत संगीत प्रस्तुत हुनेछ । प्रदेश नं ३ को सिन्धुलीको ठूलीटार ब्यारेकमा माघ १७ र १८ गते आयोजना हुने सम्मेलनमा सिन्धुली, रामेछाप र दोलखामा बसोबास गरी सोही क्षेत्रको बैंकबाट निवृत्तिभरणको रकम बुझिरहेका भूपू सैनिक तथा परिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिको सहभागिता रहने छ ।

चितवनको भरतपुर ब्यारेकमा माघ २० र २१ गते हुने सम्मेलनमा चितवन र मकवानपुरका तथा नुवाकोटको त्रिशूली ब्यारेकमा २२ र २३ गते आयोजना हुने सम्मेलनमा धादिङ, नुवाकोट र रसुवामा रहे बसेका भूपूको सहभागिता हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रदेश नं २ को मध्य पूर्वी पृतना मातहतको धनुषास्थित महेन्द्रनगर ब्यारेकमा फागुन १० र ११ गते हुने सम्मेलनमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा बसोबास गर्ने भूपू सैनिकको सहभागिता रहने छ ।

त्यस्तै, प्रदेश नं १ को पूर्वी पृतनाअन्तर्गत सुनसरीस्थित इटहरी ब्यारेकमा फागुनको २४ र २५ गते हुने सम्मेलनमा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर र ताप्लेजुङ तथा धनकुटाको हिले ब्यारेकमा फागुन २५ र २६ गते आयोजना हुने सम्मेलनमा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका भूपू सैनिकको सहभागिता रहने छ । उदयपुरको भुल्चे ब्यारेकमा फागुन २६ र २७ गते उक्त सम्मेलन हुने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्