Logo
४ आश्विन २०८१, शुक्रबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा : ५६ मध्ये मात्र ३९ सिटमा मात्र चुनाव हुने, १७ निर्विरोध

काठमाडौं : आउदो माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मात्र ३९ सांसदका लागि निर्वाचन हुने भएको छ । मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध नै भएपछि अब भने ३९ ओटा सिटमा मात्र निर्वाचन हुने भएको हो ।

राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको मनोनयन दर्ताकै क्रममा १७ जना निर्विरोध बनेका छन् । बुधबार सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता भएका मध्ये प्रदेश १, २, ५ र ७ मा केही सांसदहरु निर्विरोध बनेका छन् भने प्रदेश ३, ४ र ६ मा पूरै ८/८ वटै सिटमा चुनाव हुनेछ । राष्ट्रिय सभाका लागि प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपाङ्ग वा अल्पसंख्यकका साथै तीनजना खुल्ला प्रतिस्पर्धाबाट गरी कुल ८ जना राष्ट्रिय सभा सदस्य हुने संवैधानिक प्रावधान छ ।

तत्काल निर्वाचित घोषणा नहुने
आरक्षण सिटमा तोकिएको संख्यामा मात्रै उम्मेदवारी परे पनि तत्कालै उनीहरुलाई निर्विरोध भएको घोषणा नगरिने निर्वाचन कार्यालयले जनाएको छ । बुधवार उम्मेदवारी मनोनायन मात्र हो, यसको प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएको छ । ‘निर्विरोध निर्वाचत भएको औपचारिक घोषणा भएको मानिने छैन, १५ गतेपछि मात्र आयोगले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छ ।’ निर्वाचन आयोगका प्रवक्ता नवरजा ढकालले भने ‘मात्र उम्मेदवारी दिएर निर्वाचित घोषणा हुन सकिन्न अझैपनि धेरै पक्रियाहरु बांकि नै छ, यो बीचमा कसैले उम्मदेवारी फिर्ता लिन सक्छ वा कसैको विरुद्धमा उजुरी पर्न र उम्मेदवारी खारेज हुन पनि सक्छ, तर्सथ यसैलाई निर्वाचित भन्न मिल्दैन’

यस्ता छन् भए निर्विरोधहरु
प्रदेश १ बाट तीन महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईको मात्र उम्मेद्वारी परेको छ । यदि दाबी विरोध प्रक्रियाबाट उम्मेदवारी खारेज नभए उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले बताएको छ । प्रदेश २ बाट पाँच सदस्य निर्विरोध भएका छन् । खुलातर्फका ३ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

महिला तीन सीटमा माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेको छ ।
प्रदेश ३ र ४ मा सबै ८/८ सदस्यका लागि नै मतदान हुने भएको छ । प्रदेश ३ मा ८ सिटका लागि १७ र प्रदेश ४ मा १२ जनाको उम्मेदवारी परेको छ । प्रदेश ५ बाट राष्ट्रियसभामा तीन महिला सदस्य निर्विरोध निर्वा्चित भएका छन् । एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटाको मात्रै उम्मेदवारी परेको छ । दावी विरोधलगायतको प्रक्रिया पूरा गरेपछि उनीहरु निर्विरोध निर्वा्चित भएको घोषणा हुनेछन् ।

तर प्रदेश ६ मा भने सबै सिटमा चुनाव हुनेछ । त्यस्तै प्रदेश ७ बाट भने खुला र महिलातर्फ ३र३ सदस्य निर्विरोध निर्वाचित भएका छन् । दलित र अपाङ्ग तथा अल्पसंख्यक सिटका लागि चुनाव हुनेछ । खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् । महिलामा एमालेकी इन्दू कडेरिया विष्ट र कमला ओली, कांग्रेसकी तारादेवी भट्टको मात्रै उम्मेदवारी परेको छ ।

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्