सिँगारियो राजर्षिजनक सभागृह : हेर्नुस् सपथग्रहण सथलका ५ तस्विर
जनकपुर : देशभरका प्रदेश सभा सदस्यहरुलाई सपथग्रहण कार्यक्रम अन्तरगत प्रदेश २ को प्रदेशसभा सदस्यहरूको शपथका लागि जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृह सिँगारिएको छ । प्रदेश प्रमुखको आवासका रूपमा प्रयोग गरिने जनकपुर चुरोट कारखानाको महाप्रबन्धक निवास पनि सरसफाइ गरिँदैछ ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ शनिबार हवाई जहाजबाट जनकपुर आउने कार्यक्रम तय भए पनि मौसमी खराबीले उडान रद्द उनी स्थलमार्गबाटै आइपुगेका छन् । प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंका अनुसार शपथग्रहणको आधिकारिक कार्यक्रम प्रदेश प्रमुखको निर्देशनअनुसार निर्धारण गरिनेछ ।
प्रदेश २ का प्रदेशसभा सदस्यहरूको शपथग्रहण र नियमित बैठक शैक्षिक तालिम केन्द्रमा गर्ने निर्णय भए पनि तयारी नपुग्दा हाललाई जउवासंघको राजर्षिजनक सभागृहमा गर्नुपरेको भौतिक संरचना अध्ययन कार्यदलका सदस्य सचिव एवं सहरी विकास कार्यालयका डिभिजनल इन्जिनियर गंगाप्रसाद यादवले जानकारी दिए । प्रदेश प्रमुखको निवासका लागि राष्ट्र बैंकको अतिथिगृह निर्धारण गरिए पनि प्राविधिक कारणले हाललाई जनकपुर चुरोट कारखाना लिमिटेडको महाप्रबन्धक निवासमा व्यवस्था गरिएको हो ।
शुक्रबार रातिदेखि नै सरसफाइ अघि बढाइएको छ । यादवका अनुसार भवन सफासुग्घर तथा फर्निचर, एसी, शौचालय आदि जडान गर्न दुई दिनदेखि ५५ कामदार रातदिन खटिरहेका छन् । जउवासंघको राजर्षिजनक सभागृहको मुख्य कक्षमा प्रदेश प्रमुख तथा १ सय ७ प्रदेशसभा सदस्यलाई बस्ने व्यवस्था मिलाइँदै छ । माथिल्लो ग्यालरीमा सञ्चारकर्मीसहितका अन्य आमन्त्रितलाई बस्ने व्यवस्था मिलाइएको छ ।