Logo
२९ कार्तिक २०८१, बिहीबार
(January 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रीय सरकार बन्नुभन्दा पहिला नै प्रदेशको मुख्यमन्त्री बन्ने

प्रदेश सभा सदस्यलाई आइतबार प्रदेश प्रमुखले शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार प्रदेश प्रमुखसँग आयोग पदाधिकारीले गरेको अनौपचारिक छलफलमा आइतबार ११ बजेभित्र प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउने सहमति भएको हो । ‘आइतबार बिहान प्रदेशको सम्बन्धित राजधानीमा प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउने तय भएको छ,’ प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले नयाँ पत्रिकासँग भने । आयोगले सोही दिन दिउँसो राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक गर्दै छ । राष्ट्रिय सभा निर्वाचनका मतदाता स्थानीय तहका प्रमुख र उपप्रमुखसहित प्रदेश सभा सदस्य पनि हुन् ।

२३ माघअघि सबै प्रदेश सभाको अधिवेशन, ३ फागुनभित्र मुख्यमन्त्री
संविधानको धारा १८३ अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछन् । निर्वाचन आयोगले ३ माघमा अन्तिम नतिजा सार्वजनिक गरेको थियो । सोही दिनबाट गणना हुँदा २३ माघभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थका अनुसार आइतबार प्रदेश सभा सदस्यको शपथग्रहण मात्रै हुनेछ । अधिवेशन कहिले बोलाउने भन्नेबारे टुंगो नलागेको उनले जानकारी दिए । ‘प्रदेश सदस्यले शपथ लिएपछि राष्ट्रिय सभा सदस्य निर्वाचको कार्यतालिका प्रभावित हुँदैन, त्यसैले प्रदेशमा छलफल गरेर २३ माघअघि नै पहिलो अधिवेशन आह्वान गर्छौैँ,’ कायस्थले नयाँ पत्रिकासँग भने ।

संविधानको धारा १६८ अनुसार प्रदेश सभा सदस्य निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र मुख्यमन्त्री निर्वाचित हुनुपर्नेछ । ३ माघमा निर्वाचन परिणाम सार्वजनिक भएकाले बढीमा ३ फागुनभित्र मुख्यमन्त्री निर्वाचित भइसक्नुपर्नेछ । २४ माघमा राष्ट्रिय सभा निर्वाचन हुने कार्यतालिकाअनुसार निर्वाचन सम्पन्न भएलगत्तै मुख्यमन्त्री निर्वाचित हुनेछन् भन्दै नयाँ पत्रिकामा खबर छ । यसरी हेर्दा प्रतिनिधिसभाबाट केन्द्रीय सरकार बन्नुभन्दा पहिला नै प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।

प्रकाशित मिति: Jan 20, 2018

प्रतिक्रिया दिनुहोस्