Logo
३ आश्विन २०८१, बिहीबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पूर्व’ हुनेबित्तिकै अनुसन्धानको डर : अख्तियारको सूचीमा दुई सयको नाम

काठमाडौं : मुख्यसचिवको जिम्मेवारीबाट बिदा लिएर घर फर्केको एक हप्ता पनि नबित्दै राजेन्द्रकिशोर क्षेत्रीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयान दिए । विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले क्षेत्रीलाई बयानका लागि डाक्यो । जागिर सकेर आराम गरिरहेका क्षेत्री पनि अख्तियारको अनुसन्धानमा जोडिए ।

सोही प्रक्ररणमा पूर्व उर्जासचिव विश्वप्रकाश पण्डित र बहालवाला सचिव अर्जुनकुमार कार्कीले पनि अख्तियारमा बयान दिएका छन् । आयोगको उच्च स्रोतका अनुसार हाल अख्तियारले अहिले झण्डै दुई सयजना पूर्व विशिष्टमाथि अनुसन्धान गरिरहेको छ । सोही क्रममा उनीहरू पनि तानिएका हुन् । आयोगले नेता, पूव मन्त्रीदेखि लिएर पूर्व उच्च प्रशासकहरूलाई समेत अनुसन्धानको घेरामा ल्याएको छ । ‘यो प्रकरणमा केही कर्मचारीहरूमाथि यसअघि नै मुद्दा दायर भएको थियो,’ आयोग स्रोतले भन्यो, ‘विशेष अदालतमा मुद्दा चलिरहेको अवस्थामा मुद्दालाई प्रभावित गर्न परामर्शदाता नियुक्त गरिएकोले उहाँहरूलाई पनि अनुसन्धानमा तानिएको हो ।’

ट्रान्सफर्मर खरिदमा तीन करोड भ्रष्ट्राचार भएको भन्दै अख्तियारले फाइल अघि बढाएको हो । प्रहरी महानिरीक्षकबाट बिदा लिएका उपेन्द्रकान्त अर्यालले एक महिनाअघि अख्तियारमा बयान दिए । उनीसँगै सरकारका सचिव गजेन्द्र ठाकुरले समेत अख्तियारमा बयान दिएका थिए । अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारले उनीहरूमाथि अनुसन्धान अघि बढाएको जनाएको छ । जागिर सकेर निवृत्त जीवन बिताउन लागेका पूर्वप्रहरी महानिरीक्षक अर्याल अहिले तनावमा छन् । उनलाई पनि अख्तियारले अनुसन्धानमा तानेको छ ।

यी त प्रतिनिधि पात्र मात्रै हुन् । अख्तियार यस्तै हैसियत बनाएर सरकारी सेवाबाट बिदा लिएका अरू व्यक्तिहरूमाथि पनि अनुसन्धान अघि बढाएको छ । जागिर सकिन एक महिना मात्रै बाँकी रहेको अवस्थामा वैदेशिक रोजगार विभागमा महानिर्देशक विश्वराज पाण्डेलाई पनि अख्तियारले घुस खाएको आरोपमा पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर गरेको छ । पूर्व विशिष्टहरूमाथि अनुसन्धान गर्न थालेको अख्तियारले केही व्यक्तिहरूको सूची बनाएरै अनुसन्धान थालेको छ । ‘अख्तियारले केही विशिष्टहरूमाथि अनुसन्धान बढाएको साँचो हो,’ अख्तियारका एक उच्च अधिकारीले भने, ‘झण्डै दुई सय व्यक्तिमाथि अख्तियारले अनुसन्धान अघि बढाएको छ ।’

यसरी अख्तियारले जागिर सकिनै लागेका र जागिर सकेर घर फर्किएकाहरूमाथि अनुसन्धान अघि बढाएको छ । अख्तियारमा लामो समय काम गरेका एक निवृत्त अधिकारीका अनुसार अख्तियारका पछिल्ला गतिविधिले अख्तियारले जागिर सकेर घर फर्केका मान्छेहरूलाई निसानामा राखेको देखिन्छ । ‘उजुरीहरू त पहिलेदेखि नै परेका हुन्छ,’ उनले भने, ‘कहिले जागिर छँदै त कहिले जागिर सकिएपछि अनुसन्धान हुन्छ ।’ तर पछिल्लो समयमा अख्तियारले भर्खरै जागिरबाट बिदा भएका र बिदा हुन लागेकाहरूमाथि धावा बोल्न थालेको उनले बताए । ‘पछिल्ला गतिविधिले अख्तियारले ‘पूर्व’हरूमाथि नजर डुलाएको देख्न सकिन्छ,’ उनले भने, ‘हुन त यो एउटा प्रक्रियाको कुरा हो ।’

तर, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वहरूमाथि मात्रै अनुसन्धान अघि बढाएको भन्ने कुरा अस्वीकार गरेका छ । अख्तियारका एक अधिकारीले वैदेशिक रोजगार विभागका महानिर्देशकमाथिको अनुसन्धानलाई उदाहरण दिँदै बहालवालालाई पनि अख्यिारले निगरानी गरिरहेको बताए । ‘पछिल्ला स्टिङ अप्रेसनहरू बहालवालाहरूमाथि पनि गरिएको छ,’ उनले भने, ‘पूर्वलाई मात्रै अख्तियारले निगरानीमा राखेको छ भन्ने कुरा गलत हो ।’ पूर्व अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायले उल्देखित घटनाक्रम एउटा संयोग मात्रै हुन सक्ने बताए । ‘अख्तियारजस्तो संस्थाले हतार–हतार फाइल खडा गरेर बयानमा बोलाउँछ जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘यदि त्यस्तो गरिएको भए यो चाहिँ गलत हो ।’ उनले पहिलेदेखि नै अनुसन्धान भइरहेको विषयमा जागिरको अन्त्यतिर वा जागिर सकिएपछि बयानका लागि बोलाइएको हुन सक्ने बताए ।

पूर्व मुख्यसचिव विमल कोइरालाले पछिल्लो समय अख्तियारले पूर्ण रूपमा छानविन नै नगरी मान्छेहरूलाई दुःख दिने प्रवृत्ति देखाएको बताए । ‘पूर्ण छानविन नगरी कसैलाई पनि दुख दिनु हुँदैन,’ उनले भने, ‘अझ भ्रष्ट्राचारको मुद्दामा त मान्छेलाई मानसिक तनाव पनि हुन्छ ।यसमा अख्तियारले ख्याल गर्नुपर्छ । कोइरालाले अदालतमा मुद्दा दायर नगर्ने उच्च पदस्थ कर्मचारीको नाम अनुसन्धानकै क्रममा हुँदा सञ्चार–माध्यममा ‘लिक’ गर्ने परिपाटीसमेत गलत भएको बताए भन्दै जनता पोष्टमा खबर छ ।  उनले अख्तियारले आफ्नो जिम्मेवारीलाई ख्याल गरेर आफ्ना गतिविधिहरू अघि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्