Logo
१२ मंसिर २०८१, बुधबार
(January 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको नेतृत्वमा वीरगञ्जमा प्रदेश आन्दोलन

वीरगन्ज : प्रदेश नम्बर २ को वीरगञ्जमा पनि असन्तुष्टि देखिएको छ । जनकपुरलाई अस्थायी मुकाम तोकिएपछि औद्योगिक नगरी वीरगञ्जमा असन्तुष्टि छ । ‘वीरगञ्ज राजधानी संघर्ष समिति’ बनाएर गत पुस २१ गतेदेखि नै यहाँ अनसन सुरु भएको थियो । कांग्रेसका नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीले प्रदर्शनको नेतृत्व गरेका छन् । प्रदर्शनमा कांग्रेस, एमाले र माओवादी केन्द्र सँगै छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन जितेका संघीय समाजवादी फोरम र राजपाको भने औपचारिक सहभागिता आन्दोलनमा देखिएको छैन । प्रदर्शनमा पेशा व्यवसायीहरू र उद्योग वाणिज्य संघले पनि लिखित रुपमै ऐक्यबद्धता जनाएका छन् । बिहानैदेखि पर्साका बजार यातायतका साधन पसल आदि बन्द छन् ।

आन्दोलनकारीले बिहीबार बिहानैदेखि घण्टाघर,माइस्थान,मुर्लीलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका कारण वीरगन्जको मेन रोडका पसल, बजार बन्द छन् । यस्तै वीरगन्जबाट छुट्ने लामो तथा तथा छोटो दूरीका सार्वजनिक सवारी साधनका साथै टयाम्पु , इ रिक्सा तथा निजी साना चार पाङग्रे गाडी पनि सन्चालनमा आउन सकेका छैनन्। यस्तै बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले घण्टाघर चोकमा बिहीबार बिहान बा १२ च ७३६५ नम्बरको निजी सुजुकी कार, ना ४ च ३०८१ नम्बरको टाटासुमो र ना १ ह ५४८० नम्बरको इ रिक्सामा तोडफोड गरेका छन् ।

आन्दोलनकारीले वीरगन्ज महानगरपालिका कार्यालयमा पनि ढुङगा प्रहार गर्दा कार्यालयका सीसा फुटेका छन्।वीरगन्जलाई राजधानी बनाउन माग राख्दै पुष २१ गतेदेखि घण्टारघरमा हुँदै आएको रिले अनसन बिहीबार १४ औं दिन पनि जारी छ।सरकारको निर्णय जनविरोधी रहेकाले तत्काल उक्त निर्णय सच्याएर वीरगन्जलाई राजधानी घोषणा नगरेसम्म आन्दोलन जारी नै रहने संघर्ष समितिका सहसंयोजक एंव पूर्वसांसद राजकुमार गुप्ताले बताए ।

सरकारले जनकपुरलाई अस्थायी मुकाम तोकेको विरोधमा बाराको विभिन्न स्थानमा पनि बिहीबार बिहानदेखि प्रदर्शन भइरहेको छ।अस्थायी राजधानी जनकपुरलाई बनाउने सरकारको निर्णय फिर्ता गर्दै वीरगन्जलाई नै राजधानी घोषणा गर्न माग गर्दै बाराको परवानीपुर, नौतन गण्डक,चैनपुर र प्रसौनीमा पनि स्थानीयले बिहीबार बिहान देखि सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । बन्दकर्ताले कलैया वीरगन्ज सडक खण्ड र वीरगन्ज पथलैया सडक खण्डमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। बाराको गण्डक चोकमा राजकिशोर गुप्ताको नेतृत्वमा र प्रसौनीमा प्रसौनी गाउँपालिकाका नागरिक समाजका अध्यक्ष विनोद पटेलको नेतृत्वमा प्रदर्शन भएको हो ।

प्रकाशित मिति: Jan 18, 2018

प्रतिक्रिया दिनुहोस्