Logo
२० कार्तिक २०८१, मंगलबार
(January 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई/चार दिनपछि मात्रै प्रदेश प्रमुखको शपथ, राष्टियसभा निर्वाचनमा असर पर्ने

काठमाडौँ : सरकारले हिजाे नियुक्ति गरेका ७ प्रदेशका प्रमुखको शपथ ग्रहण दुई/चार दिन पछि मात्रै हुने भएको छ ।  संवैधानिक व्यवस्था अनुसार नै सपथग्रहण ढिलो हुने भएको हो । प्रदेश प्रमुखमा ढिला हुनेभएपछि राष्टियसभा निर्वाचन प्रक्रियामा समेत ढिलो हुने भएको छ । प्रदेश प्रमुखको नियुक्ति भएको सात दिनभित्र प्रदेशसभाको अन्तिम मत परिणाम उनी समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।  संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले प्रदेश प्रमुखलाई शपथ दिलाउनु पर्ने हुन्छ । त्यसका लागि सरकारले राष्ट्रपति समक्ष प्रमुख नियुक्त गरेको पत्र पठाउनुपर्ने हुन्छ ।

संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्था गरिएको छ । उक्त व्यवस्था अनुसार प्रदेश प्रमुखले निर्वाचनको परिणाम घोषणा भएको २० दिन भित्र प्रदेश सभाको बैठक बोलाउनु पर्नेछ । सो बैठक बस्नु अगाडि प्रदेश सभा सदस्यहरूले प्रदेश प्रमुख समक्ष शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ । प्रदेश प्रमुखको नियुक्ति भएको सात दिनभित्र प्रदेशसभाको अन्तिम मत परिणाम उनी समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसै अनुसार निर्वाचन आयोगले बुधवार नै उक्त नतिजा घोषणा गरिसकेको छ ।

वाणिज्यमन्त्री मीन विश्वकर्माले राष्ट्रपति समक्ष प्रदेश प्रमुखहरूको शपथ ग्रहणका लागि पत्राचार गरिसकिएको बताए । ‘मन्त्रिपरिषद्को पत्र राष्ट्रपति कहाँ मुख्य सचिवमार्फत बुधवार नै पठाउने निर्णय भएको छ,’ उनले भने,‘ राष्ट्रपतिले आफ्नो अनुकूल र आवश्यकता अनुसार छिट्टै बोलाउनु होला ।’

तर, सरकारले अझै राष्ट्रपति समक्ष उक्त पत्र पठाएको छैन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव कुलप्रसाद चुडालले अहिलेसम्म सरकारबाट प्रदेश प्रमुख नियुक्त गरेको पत्र नआएको बताए ।  सरकाले आज सोनाम लोछारको सार्वजनिक विदा दिएको छ । चुडालले सरकारबाट पत्र प्राप्त हुन साथ राष्ट्रपतिले प्रदेश प्रमुखलाई शपथ ग्रहणका लागि बोलाउने बताए । ‘विदाका कारण पनि शपथ ग्रहण दुई/चार दिन पछि हुने भयो,’ उनले भने ,‘राष्ट्रपति ज्यु सकेसम्म चाँडै सपथ खुवाउने मनस्थितिमा हुनुहुन्छ ।’

प्रकाशित मिति: Jan 18, 2018

प्रतिक्रिया दिनुहोस्