Logo
११ मंसिर २०८१, मंगलबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलि टुँडिखेलमा ल्होछार नहुने, सोनाम ल्होछारको तिथिमा अन्योल

काठमाडौँ : यो वर्षको सोनाम ल्होछारको तिथि विवादले तामाङ समुदायमा राष्ट्रिय चाडप्रति अन्योल छाएको छ । दुई संस्थाबीच विवाद बढेपछि बिहीबार राजधानीको टुँडिखेलमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने भनिएको ‘२८५४ औं खि–ल्हो (कुकुर वर्ग) सोनाम ल्होछार’हुन नसक्ने भएको छ । घेदुङले बिदा सार्न माग गरे पनि सरकारले माघ ४ गतेलाई नै सार्वजनिक बिदा कायम गरेको छ ।

तामाङ घेदुङले ०७२ सालदेखि सोनाम ल्होछार निर्धारण गर्ने सोनाम लोथो (कृषि पात्रो) अनुसार ल्होछार मनाउँदै आएको छ । उक्त पात्रोअनुसार चन्द्रमास ख्रे–ला छेपागी यो वर्ष फागुन ४ गते परेको घेदुङका अध्यक्ष गोलेले स्पष्ट पारेका छन् ।विगतदेखि नै घेदुङको आयोजनामा हुने ल्होछारलाई विश्वभरिका तामाङ जातिले आधिकारिक मान्दै आएका छन् । सोनाम ल्होछार पर्वबारे तामाङ समुदायभित्र ०५१ सालदेखि विवाद जारी छ ।

तामाङ समुदायमा तिथिमिति मात्र नभई ग्याल्बो र सोनाम ल्होछार कुनलाई मान्ने भन्नेमा समेत विवादमा रहेको जनाइएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङले (२०७४ साल) माघ ४ मा र नेपाल तामाङ घेदुङले फागुन ४ गते हुने फरकफरक तिथि घोषणा गरेपछि अन्योल भएको हो । राष्ट्रिय तामाङ घेदुङअन्तर्गत बनेको ल्होछार आयोजक समितिले माघ ४ गतेका निम्ति स्थान उपलब्ध गराउन माग गरेको थियो ।

टुँडिखेलमा ठाउँ उपलब्ध नहुने भएपछि प्रदर्शनी मार्गमा मनाउने नेपाल राष्ट्रिय तामाङ घेदुङका कार्यवाहक महासचिव प्रवीणकुमार बलले बताए । त्यसैगरी, नेपाल सांस्कृतिक कला केन्द्रले पनि त्यसै दिन टुँडिखेलमै कार्यक्रम आयोजना गर्न माग गरेपछि दुवै पक्षलाई ठाउँ उपलब्ध गराउन नसक्ने सैनिक स्रोतले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिअन्तर्गत निर्मित पात्रोमा सोनाम ल्होछार यो वर्ष माघ ४ गते र फागुन ४ गते ग्याल्बो ल्होछार उल्लेख छ । तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले प्रत्येक वर्ष ल्हो परम्परामा रहेर मन्जुश्री तत्त्व ज्योतिष पात्रोअनुसार पहिलो महिना (ख्रे ला छेपागी) अर्थात् वर्षको पहिलो दिन १ गते मान्ने र त्यो तिथि यस पटक विक्रम संवतको फागुन ४ गते परेकाले भ्रममा नपर्न गत पुसमै पत्रकार सम्मेलन गरी आग्रह गरेका थिए ।

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्