Logo
२३ पुस २०८१, मंगलबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानी नतोकिए नागरिकता फिर्ता गर्ने चेतावनी सहित डोटीमा हड्ताल

डोटी : प्रदेशको राजधानी माग्दै डोटी जिल्ला बुधबार फेरि बन्द भएको छ । प्रदेश नं. ७ को राजधानी दिपायल कायम गर्न माग गर्दै बुधबारदेखि फेरि बन्द आह्वान गरिएको हो । प्रर्दशनकारीहरुले प्रदेश राजधानी दिपायलमै हुनुपर्ने मागसहित अहिले मंगलबार राति ८ बजे क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि शान्तिपूर्ण मशाल जुलुस प्रदर्शन गरिएको छ ।

सरकारले डोटेली जनतालाई अन्याय गर्ने गरी प्रदेश नं. ७ को राजधानी दिपायल बाहेक अन्यत्र तोकेमा डोटी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिएका सबैले आ-आफ्नो नागरिकता सोही कार्यालयमार्फत सरकारलाई फिर्ता गर्ने निर्णय भएको आन्दोलन संयोजन समितिका सदस्य दिपक खड्काले जानकारी दिएका छन् ।

जारी आन्दोलनको बिषयमा थप छलफल गर्न मंगलबार अवेर बसेको आन्दोलन संयोजन समितिको बैठकले बुधबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बजार, सरकारी तथा गैरसरकारी कार्यालय, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । सरकारले प्रदेशको प्रशासनिक केन्द्र दिपायलमै तोक्नु पर्ने मागसहित बन्द आव्हान गरिएको समितिले जनाएको छ ।

यसैबीच प्रदेश नं. ७ को राजधानी दिपायलमा हुनुपर्ने माग राख्दै डोटीमा क्रियाशील राजनीतिक दलहरुले संयुक्त बिज्ञप्ती जारी गरेका छन् । डोटीमा क्रियाशील नौ दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा राष्ट्रवादी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल पार्टी र राप्रपा प्रजातान्त्रिकले संयुक्त बिज्ञप्ती जारी गर्दै राजधानीको माग गरेका हुन् ।

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्