Logo
२० कार्तिक २०८१, मंगलबार
(January 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

द्रुतमार्गको डीपीआर आफैं बनाउने सेनाको घोषणा, यी हुन् १० कामहरु

काठमाडौं : काठमाडौं-निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली सेना आफैंले बनाएको भएको छ । यससँगै भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नहुने भएको छ । लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले २१ बैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

जङ्गी अड्डामा सोमबार आयोजित पत्रकार सम्मेलनमा सेनाले आयोजनाको डीपीआर आफैं बनाउने बताएको हो । ‘डिटेल इन्जिनियरिङ गर्न आहृवान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिनेछ’ आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले भनेका छन् । तर, भारतीय कम्पनीले आफ्नो डीपीआर किन्नु पर्ने शर्त राख्यो । शेरबहादुर देउवा सरकारले भारतीय कम्पनीले बनाएका डीपीआर किन्ने निर्णय गर्दै अध्ययन गर्न सेनालाई भनेको थियो ।

अध्ययनका क्रममा डीपीआर पूर्ण नपाइएको र प्रस्तावित मूल्यमा भारतीय कम्पनी सहमत नभएपछि सेनाले आफैं बनाउने निर्णय लिएको हो । भारतीय कम्पनीले मागेको मूल्य भन्दा कम रकममा नै नयाँ डीपीआर तयार हुने सेनाले बताएको छ । मूल्य मात्र नभई भारतीयकम्पनीले बनाएको डीपीआर हुबहू कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको सेनाले बताएको छ ।

सैन्य हेडक्वार्टरमा मंगलबार आयोजित पत्रकार सम्मलेनमा नेपाली सेनाले प्राजेक्टर मार्फत दिएको जानकारी अनुसार अहिलेसम्म फास्ट ट्रयाक निर्माणसम्बन्धी विभिन्न १० वटा कामहरु भएका छन्  ।

सेनाले हालसम्म गरेका काम यस्ता छन् : 

१. फास्ट ट्रयाकमा पर्ने पाइलट ट्रयाकको पहिरो पन्छाउने काम सकिएको छ ।

२. पहिलो चरणमा गत साउनको दोस्रो हप्ता १९० जना सैनिक परिचालन गरिएको छ । दोस्रो चरणमा कात्तिक २८ गते १४१ जना सिपाही थपेर हालसम्म ३३१ जना सैनिकहरु फिल्डमा खटिएका छन् ।

३. बाटो निर्माणका लागि नेपाली सेनाद्वारा खरिद गरिएका हेभी इक्युप्मेन्ट, सवारी साधन र अन्य उपकरणहरु फिल्डमा पुर्‍याइएको छ ।

४. फास्ट ट्रयाक निर्माण कार्यका लागि टनेल बाहेकको डिटेल इञ्जिनियरिङ सर्बे नेपाली सेना आफैंले निर्माण गरेको छ ।

५. भारतीय कम्पनी आएएल एण्ड एफएस ले गरेको डीपीआरका सम्बन्धमा उपयुक्त निर्णय गर्न वार्ता टोली गठन गरेर नेपाली सेनाले आफ्नो रायसुझाव पेश गरिसकेको छ । सेनाले भारतीय डीपीआर नमान्ने र आफैं बनाउने निर्णय निकालेको छ ।

६. नेपाली सेना तथा राष्ट्रिय स्तरका निर्माण व्यवसायीहरुबाट गरिने निर्माण कार्यका लागि इक्युप्मेन्ट लीज का साथै २८ वटा ठेक्का प्रक्रियाहरु सेनाले अगाडि बढाएको छ ।

७. आयोजना स्थलमा पर्ने रुखहरु काट्नका लागि मंसिर २५ गतेबाट २०६ जना सैनिकहरु फिल्डमा खटाइएको छ ।

८. पहिलो चरणको रुख कटान, छपान र घाटगद्दी गर्ने काम गत पुस २९ गतेसम्म बारा जिल्लाको ७६.२ चेनेजबाट उत्तरतर्फ ६९.४ चेनेजसम्मको ७ किलोमिटर दूरीसम्म सम्पन्न भएको छ । र, बाँकी ८/९ किलोमिटरसम्मको रुख कटान हाल जारी छ ।

९. मकवानपुर जिल्लामा घर टहराहरुको क्षतिपूर्ति दिने काम ९० प्रतिशत सम्पन्न भएको छ । बारा जिल्लामा क्षतिपूर्ति दिनु नपर्ने सेनाले जनाएको छ ।

१०. जग्गाको मुआब्जातर्फ पनि कामहरु भएका छन् । जस्तै-
बारामा सरकारी जग्गा भएकाले मुआब्जा दिनु नपर्ने भए पनि मकवानपुरमा मुआब्जा बुझाउनुपर्ने सबै जग्गाको पूर्जा प्राप्त भएको छ । काठमाडौंमा ७४ कित्ताको पूर्जा प्राप्त हुनुपर्नेमा हालसम्म ६९ कित्ताको पूर्जा प्राप्त भएको छ । ५ कित्ताको धुनीपूर्जा प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति: Jan 16, 2018

प्रतिक्रिया दिनुहोस्