Logo
४ आश्विन २०८१, शुक्रबार
(January 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामदेवलाई शक्तिशाली पद भनेपछि कार्यदलमा रडाको

काठमाडौं : नेकपा एमालेको गुटबन्दीमा राम्रै छवि बनाएका कार्यवाहक अध्यक्ष वामदेव गौतमले पार्टीमा पाँच वर्षका लागि छुट्टै पद माग गरेका छन् । उनले राजनीतिभन्दा बाहिरको स्वतन्त्र र शक्तिशाली पद माग गरेपछि एमालेभित्र खैलाबैला सुरु भएको छ । एमालेलाई माओवादीसँग पार्टी एक बनाउने मुख्य सूत्रधारका रुपमा चिनिएका गौतमले प्रतिनिधिसभामा पराजय भोगेपछि राजनीतिक पदमा चासो नराखेको एमाले नेताहरुले बताउन थालेका छन् । गौतमले राष्ट्रपति र राष्ट्रियसभा दुवै पदमा नजाने निर्णय गर्दै नयाँ पदको सिर्जना गर्न माग गरेका हुन् ।

उनले पार्टी एक भएपछि आगामी पाँच वर्षका लागि बन्ने सरकारको सहयोगीको रुपमा काम गर्ने चाहना देखाएका छन् । गौतमले एउटै कम्युनिष्ट पार्टी निर्माण गरेपछि पुनर्निमाण प्राधिकरणजस्तै कार्यकारी भूमिकासहित पाँच वर्ष विकास निर्माणमा वामपन्थी सरकारलाई सघाउने चाहना व्यक्त गरेका छन् । यो चाहना उनले अध्यक्ष केपी ओली समक्ष पनि राखिसकेका छन् । उनले भूकम्पपछि बनेको पुनर्निमाण प्राधिकरण जस्तै कार्यकारी हैसियत भएको तर, छुट्टै खालको विकास प्राधिकरण गठन गरी त्यही प्राधिकरण मातहतबाट विकासका काम अघि बढाउनुपर्ने गरी भूमिका दिन ओली समक्ष माग गरेका छन् ।

गौतमले कम्युनिस्ट सरकारले गरेका विकास निर्माणका कामको छुट्टै महत्व राख्ने गरी प्राधिकरण गठ गर्नुपर्ने बताएका छन् । उनले मागेअनुसारको पद सिर्जना गर्न सरकारले अधिकार सम्पन्न छुट्टै आयोग वा प्राधिकरणले गर्नेछ । उनले आफूले चाहेको पदका विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका छन् । जनताले अनुमोदन नगरेकाले कुनै राजनीतिक लाभको पदभन्दा अधिकार प्राप्त विकास निर्माणसँग सम्बन्धित क्षेत्रमा पाँच वर्ष काम गर्ने इच्छा देखाएका छन् ।

उनलाई एमाले भित्रबाटै राष्ट्रपतिका लागि कोसिस गर्न आग्रह गरिएको भए पनि नैतिक हिसाबले राजनीतिक लाभको पदमा नबस्ने निर्णय गरेको बताएका छन् । वामपन्थी गठबन्धनका एक प्रमुख सूत्रधार गौतमले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिए हुने आशय व्यक्त गरेका छन् । एमालेबाट राष्ट्रपतिमा झलनाथ खनालले पनि चाहना व्यक्त गरेका छन् । कतिपयले वामदेव गौतम र सुवास नेम्वाङको समेत चर्चा चलाएपछि गौतमले आफू राष्ट्रपतिको रेसमा नभएको प्रष्ट पारेका हुन् । तीन पटक उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेका गौतमले आगामी सरकारले पाँच वर्षभित्र आर्थिक, सामाजिक रुपान्तरणका लागि सम्पूर्ण पूर्वाधार तयार गर्ने भूमिका आफूले पाउनपर्ने अडान पनि राखेका छन् ।

उनले साझा निर्वाचन घोषणपत्रमा आगामी पाँच वर्षभित्र सामाजवाद उन्मुख आर्थिक, समाजिक रुपान्तरणका लागि सम्पूर्ण पूर्वाधार सम्पन्न गर्ने महत्वाकांक्षी योजना कार्यान्वयन गराउन भन्दै यस्तो पद मागेको बताइएको छ । पार्टी एकता संयोजक समिति सदस्यसमेत रहेका गौतमले बर्दिया १ मा आफ्नो पराजय अन्तर्घातकै कारण भएको र यसमा पार्टीले आफूलाई न्याय दिनुपर्ने बताउँदै आएका छन् । यता, एमालेभित्रै गौतमको प्रस्तावको खिल्ली उडाउने खेल पनि सुरु भएको छ ।

उनले पटक पटक गृहमन्त्री हुँदा कमाएको पैसा पार्टीलाई नदिएको आरोप लगाएका छन् । गौतम सधै लाभ र बढी कमाइ हुने मन्त्रालयमा गएको र अझै कमाउन विशेष भूमिका भएको विकास प्राधिकरणको माग गरेको दाबी केही एमाले नेताहरुले गरेका छन् । नेकपा एमाले र माओवादीबीच पार्टी एकताका लागि बनेको नयाँ कार्यदलमा पनि नेताहरु विभाजित भएका छन् । पार्टी एकताका लागि विषयगत समस्या समाधान गर्न गठन गरिएको दोस्रो कार्यदलमा पनि नेताहरुले आ–आफ्नै पार्टीका एजेन्डालाई प्राथमिकता दिएपछि बैठकमै नेताहरु सहभागी हुन छाडेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सहमतिमा संयुक्त कार्यदल गठन गरिएको थियो । कार्यदलको पहिलो बैठक बिहीबार बस्ने भनिए पनि शुक्रबार विहान केही समय बसेको थियो । तर, पहिलो बैठकमै एमाले र माओवादीका मुख्य नेताहरु अनुपस्थित भएपछि अर्को बैठक बस्न र तोकिएका एजेन्डामा छलफलसमेत हुन सकेको छैन ।

प्रकाशित मिति: Jan 15, 2018

प्रतिक्रिया दिनुहोस्