Logo
४ आश्विन २०८१, शुक्रबार
(January 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले थाल्यो राष्ट्रियसभा निर्वाचनको आन्तरिक गृहकार्य 

काठमाडौँ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीको आन्तरिक गृहकार्य शुरु गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आगामी बैठकबाट प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरेको पृष्ठभूमिमा सोमबार छलफल भएको हो ।

पार्टीका शीर्ष नेताले आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्यलगायत विषयमा प्रारम्भिक छलफल गरेका पार्टी कार्यालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारेमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री देउवाले विभिन्न राजनीतिक दलसँग यसबारेमा छलफल गरी सहमतिका लागि प्रयास गरेका थिए । राष्ट्रियसभा निर्वाचनका लागि तत्काल प्रदेश प्रमुख नियुक्त हुनुपर्ने कानूनी बाध्यता छ । राष्ट्रियसभाका लागि मतदाता हुने प्रदेशसभा सदस्यले निर्वाचन तालिकाअनुसार त्यसअघि नै प्रदेश प्रमुखबाट शपथ लिइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेसले राष्ट्रियसभा निर्वाचनको तयारीसँगै केन्द्रीय समिति बैठक बोलाउने तयारीसमेत गरिहेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि समीक्षा गर्न भन्दै पार्टीमा केन्द्रीय समिति बैठक बोलाउन माग भइरहेको छ । छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत थिए । रासस

प्रकाशित मिति: Jan 15, 2018

प्रतिक्रिया दिनुहोस्