Logo
३ आश्विन २०८१, बिहीबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय गुप्तचर निकाय ‘रअ’ को नाममा ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं : भारतको गुप्तचर निकाय रिसर्च एन्ड एनालाइसिस विङ (रअ) मा भर्ना गरेको भन्दै नक्कली नियुक्तिपत्र दिई काठमाडौंका युवालाई ठगी गर्ने ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थपेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाले ठगीमा संलग्न मुख्य व्यक्ति सप्तरीका ४१ वर्षीय रमाकान्त चौहान भन्ने रमाकान्त नौनियासहित ६ जनालाई पक्राउ गरेको हो । दोलखा सुरी गाउँपालिकाका २८ वर्षीय सन्तोष कार्की, ३० वर्षीय विनोद कार्की, काभ्रेको नाग्रे गागर्चेका ४१ वर्षीय पदमबहादुर श्रेष्ठ, रामेछापका २९ वर्षीय चित्रबहादुर श्रेष्ठ र काठमाडौं महाराजगञ्जकी ३२ वर्षीया गीता महर्जनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । नौनियाले उनीहरुको सहयोगमा करिब ६० जनासँग ३ लाखदेखि ५ लाख रुपैयाँसम्मको रकम ठगेको बताइएको छ ।

महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार जागिर लगाइदिएवापत ४ महिनाको तलब आफूलाई दिनुपर्ने भन्दै नौनियाले रकम असुलेका थिए । हालसम्म एक दर्जन उजुरी आएको र नौनियाले तीन सयभन्दा बढी व्यक्तिलाई त्यसरी ठगी गरेको देखिएको एसएसपी लोहनीले बताए । अभियुक्त नोनिया वैदेशिक रोजगारीमा कुवेत पुगेर फर्किएका व्यक्ति हुन् ।

उनीहरुले मासिक ५० हजार भारु तलब हुनेगरी रअको एजेन्टमा नियुक्त गरेको भन्दै नाटकीय शैलीमा ठगी गरेका थिए । नियुक्तिपत्र दिएपछि सूचना संकलनका लागि उनले युवाहरुलाई विभिन्न एरिया तोकेर खटाएका समेत थिए । भारतीय दूतावासकै नक्कली लेटरप्याड बनाएर उनीहरुलाई नियुक्ति दिइएको थियो । पछि उनी सम्पर्क विहिन भएपछि रअको एजेन्टमा नियुक्त भएकाहरु प्रहरीमा पुगेका थिए ।

प्रकाशित मिति: Jan 14, 2018

प्रतिक्रिया दिनुहोस्