हामिले तोक्ने प्रदेश प्रमुखलाई नयाँ सरकारले हटाउन सक्दैन : गच्छदार
विराटनगर : उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने बताएका छन् । दलहरुबीच सहमति कायम हुन नसकेमा वर्तमान सरकारले विधिसम्मत रुपमा प्रदेश प्रमुख तोक्ने बताउँदै उनले प्रदेश प्रमुखलाई पूर्वग्राही ढङ्गबाट अब बन्ने सरकारले हटाउन नसक्ने बताए ।
उनले आज साँझ विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय पार्टीहरुबीच न्यूनतम सहमति गरी प्रमुख र प्रदेशको अस्थायी केन्द्रबारे निर्णय हुने बताए । ‘दलहरुबीच सहमति भन्नु नै भागभण्डा हो, योग्य र राम्रो व्यक्तित्व भएका व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गरिनेछ’ उनले भने ।
उनले गत शुक्रबार माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने मन्त्रीले प्रमुख र अस्थायी केन्द्र तोक्ने निर्णयमा सहमति नगर्ने भनी राजीनामा दिएको हुनाले निर्णय हुन नसकेको प्रष्ट पारे । रासस