वडाअध्यक्षका उम्मेदवार अवैध हतियार सहित पक्राउ
नेपालगन्ज : अवैध हात हतियारको कारोबारमा संलग्न रहेको आरोपमा नेकपा माओवादी केन्द्र बाँकेका नेता गरिबे शेखलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन र चार राउण्ड गोली बरामद गरेको जनाएको छ ।
प्रदेश नम्बर ५ को विशेष प्रहरी व्यूरो टोलीले खजुरा गाउँपालिका वडा नम्वर ५ उढरापुरबाट नेता शेखलाई पक्राउ गरेको हो । हतियार किनबेचका लागी मोलमेलाई गरिरहेको अवस्थामा ५० हजार भारतीय रुपैयाँसहित उनलाई पक्राउ गरिएको प्रहरी ब्युरोले जनाएको छ ।
उढरापुर निवासी नेता शेखले भारतबाट अबैध हातहतियार ल्याएर विक्री गर्ने गरेको प्रहरीको आरोप छ । माओवादी केन्द्रका जिल्ला सदस्य रहेका उनी गत स्थानीय तहको निर्वाचनमा उक्त पार्टीबाट वडा नम्वर ५ को वडाअध्यक्षमा उम्मेदवार बनेका थिए ।