Logo
४ आश्विन २०८१, शुक्रबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कसैले प्रधानमन्त्री तोक्न सकेका छैनन् त्यसैले म तत्कालै छोड्न सक्दिन : देउवा

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बहुमत प्राप्त गरेर कसैले प्रधानमन्त्री तोक्न नसकेकोले आफूले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको बताएका छन् । धार्मिकस्थलमा आएर आफूले राजनीतिक कुरा नगर्न खोजे पनि बोल्न बाध्य भएको बताउदै उनले वाम गठबन्धनले नयाँ प्रधानमन्त्रीको टुंगो नगरेकाले सत्ता हस्तान्तरण गर्न नसकिरहेको बताए ।

आइतबार विहान कैलालीको गोदावरी धाममा १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वाम गठबन्धनले अहिलेसम्म प्रधानमन्त्रीको टुंगो नलगाएको अवस्थामा आफुले सत्ता हस्तान्तरण गर्ने भन्ने प्रश्न गरे । ‘वाम गठबन्धनभित्र को प्रधानमन्त्री बन्ने टुंगो लागेको छैन, मेरो ब्रतबन्ध भएको स्थानबाट भन्छु, म सत्ता कसलाई हस्तान्तरण गरुँ ?’, देउवाले प्रश्न गरे, ‘म सत्ता हस्तान्तरण गर्नका लागि आतुर छु ।’

देउवा भन्दा अगाडि मकर मेलालाई सम्बोधन गरेका नेकपा एमालेका तर्फबाट कैलाली–५ का सांसद नारदमुनी रानाले देउवालाई सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेपछि त्यसको जवाफमा भने ‘कोही बहुमत ल्याएर आउन नसक्ने, अनि कसलाई सत्ता हस्तान्तरण गरुँ ? लाज लाग्दैन ।’

 

प्रधानमन्त्री देउवाले आफुले सबै दलहरुको सहमतिमा प्रदेश सभाको अस्थायी राजधानी तोक्न खोज्दा सहमति हुन नसकेकोले छिट्टै सरकार निर्णयमा पुग्ने बताए ।  आइतबारै राजधानी फर्किरहेका देउवाले आफूलाई सबैभन्दा बढी सकस प्रदेश नम्बर ७ को अस्थायी राजधानी तोक्न भइरहेको बताउदै अन्तिम पटक फेरि प्रयास गर्ने र सहमति नभए आफैँ तोकिदिने बताए । ‘मलाई सबैभन्दा बढी मेरै क्षेत्रको राजधानी तोक्न समस्या भइसक्यो, कोही दिपायल भन्छन् कोही धनगढी, दलहरुको बैठक बोलाए कोही पनि बोल्दैनन्, ल भन्नुस मैले के गर्ने ?’ उनले भने ।

मकर मेलाको उद्घाटनमा सांसद राना र गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले पनि गोदावरी क्षेत्रको विकासका लागि सरकारले ध्यान दिनुपर्ने माग गरेका थिए । गोदावरी धाम विकास समितिका संयोजक पदमराज जोशीको अध्यक्षतामा सम्पन्न मेला उद्घाटन समारोहमा धामबारेमा सह–संयोजक मदनराज पाण्डेले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

यसअघि प्रधानमन्त्री देउवाले श्रीयन्त्रको पुजा पनि गरेका थिए, तर उनले जुत्ता नखोलेरै पुजा गरेकाले त्यहाँ पुगेका दर्शनार्थीहरुले भने कानेखुसी गर्दै आलोचना गरेका थिए । उनले खैरो छालाका जुत्तामै श्रीयन्त्रको पुजा र परिक्रम गरेका थिए । दुईवर्ष अघि गोदावरी धाममा कुम्भमेलाको आयोजना गरिएपछि त्यहाँ हरेक वर्ष माघ महिनाभरी १२ राशी मकर मेला लाग्दै आएको छ । गोदावरी धाम गोदावरी नदीमा आउने बाढीले संकटमा पारेका भन्दै आयोजकहरुले प्रधामनन्त्री समक्ष धाम जोगाउन पनि आग्रह गरेका थिए ।

प्रकाशित मिति: Jan 14, 2018

प्रतिक्रिया दिनुहोस्