समानुपातिकको सूची मिलाउन राजपा तयार
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची मिलाउन तयार भएको छ ।
निर्वाचन आयोगको चेतावनीपछि आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर सूची बुझाउने निर्णयमा राजपा पुगेको राजपा अध्यक्षमण्डलका एक सदस्यले बताए ।
राजपा स्रोतका अनुशार आजै कार्यालय खुल्नासाथ राजपाले आयोगले भनेअनुसार सूची सच्याई बुझाउनेछ । आयोगले सूची नसच्याए राजपाको परिणाम रोक्ने चेतावनी दिएको थियो ।
चेतावनीपछि राजपाका नेता शुक्रबार आयोगका अधिकारीलाई भेट्न पुगेका थिए । भेटपछि राजपाले आयोगसँग सूची सच्याउन केही दिन पर्खन आग्रह गरेको थियो । यसअघि आयोगले सूची सच्याउन बारम्बार आग्रह गरे पनि राजपाले अटेर गर्दै आएको थियो। समानुपातिकबाट राजपाले प्रदेश २ मा १० सिट पाएको छ । निर्वाचनअघि बुझाइएको सूचीमा पनि राजपाले ’क्लस्टर’ मिलाएको थिएन ।
आयोगले त्यतिबेलै आपत्ति जनाए पनि राजपाले सूची नसच्याई चुनावमा होमिएको थियो । राजपाले अहिले वरीयता सूची पनि आयोगले भने जसरी बुझाउन आनाकानी गर्दै आएको थियो । समानुपातिकको बन्दसूचीमा भएको ‘क्रम’ अनुसार नै प्रतिनिधि छनोट गर्नुपर्ने कानुनी व्यवस्था छ ।
तर, राजपाले १० सिटमध्ये पहिलो ६ जनाको बन्दसूचीअनुसार छानेको थियो भने त्यसपछिका चार जनाका लागि क्रम मिचेको थियो । त्यसप्रति निर्वाचन आयोगले आपत्ति जनाएको पाइन्छ ।