कुर्सीमा बस्न नपाई शशि शर्मा बाहिरिए
काठमाडौं : सर्वोच्च अदातलबाट पुनर्बहाली भएका डिन प्र.डा शशि शर्मा कुर्सीमा बस्न नपाउँदै बिदा भएका छन। पदावधि सकिन चार दिन बाँकी छँदा सर्वोच्चको आदेशले पुनर्बहाली भएका उनी हाजिर गरे पनि डिनको कुर्सीमा बस्न नपाई बाहिरिएका हुन ।
डिन कार्यालयमा चिकित्सा क्याम्पस, स्वावियुले तालाबन्दी गरेको थियो । डा. शर्माले आईटी विभागमा गई हाजिर गरिरहेका थिए ।
अदालतले चार बर्ष लामो मुद्दा किनारा लगाउँदै आइतबार उनलाई बहाली गरेको थियो । शर्माले बुधबारदेखि डिन पदबाट बाहिरिएको बताएका छन् ।
४ वर्षे डिनको कार्यकाल २८ पुससम्म बाँकी रहेका शर्माले बिहीबार सार्वजनिक बिदा भएकाले बुधबारबाटै डिन पद छोडेको बताएका हुन् ।
‘सर्वोच्चको सम्मानका लागि डिनमा पुनर्बाहाली भएको थिएँ,’ शर्माले भने, ‘अब मलाई कसैको आत्मा रुवाएर डिन पदमा बस्नु छैन । तीन महिना डिनको अवधि थप गर्न पाउने प्रावधान छ । तर, म्याद थप्ने पक्षमा म आफू छैन ।’
उनले सर्वोच्च अदालतले पुनरर्बाहाली गरेकाले सर्वोच्चको सम्मान गर्न तीन दिनका लागि डिन भएको स्पष्ट पारे ।
‘डिनको लोभ थिएन । मैले न्याय पाउनुपर्ने थियो, पाएँ । त्यसैमा खुसी छु,’ शर्मले भने । तीन दिन डिन हुँदा आफूले डा। जगदीशप्रसाद अग्रवालले विवादमा पारेका विषय किनारा लगाएको बताए ।