राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक : २ हजार ५६ जनाले मतदान गर्ने
काठमाडौँ : निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । आयोगले बुधबार सार्वजनिक गरेको तालिका अनुसार सबै प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान हुने छ ।
मतदानको समय भने बिहान १० देखि ३ बजेसम्म तोकिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्न पाउनेछन् । मतदान सकिएकै दिन दिउँसो ४ बजेबाट मतगणना सुरु गरिने आयोगले जनाएको छ ।
राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जनासहित ८ जना चुनिने संवैधानिक प्रावधान छ ।
त्यसबाहेक सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक महिलासहित तीन जना राष्ट्रिय सभामा मनोनीत हुनेछन् । राष्ट्रिय सभा सदस्यको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख छन् ।
निर्वाचन तालिका :
माघ ७ गते
निर्वाचन अधिकृतकाे कार्यालयमा मतदाता नामवली प्रकाशन, प्रकाशित नामावली उपर दाबी विरोधको उजुरी दिने
माघ ८ र ९ गते
उजुरी उपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने
माघ १० गते
मनोनय पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने
माघ ११ र १२ गते :
उम्मेदवारको विरोधमा उजुरी दिने
माघ १३ गते
मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने
माघ १४ र १५ गते
उम्मेदवारले नाम फिर्ता लिने
माघ १५ गते
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने