प्रदेश राजधानी नतोकिएकोमा मधेश केन्द्रित दल रुष्ट
काठमाडौं : काठमाडौंमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्यले शपथ नलिने घोषणा गरेका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी नतोकी काठमाडौंमा नै प्रदेशसभा सदस्यलाई शपथ खुवाउने तयारी गरिरहेको छ । ‘प्रदेशसभाका विजयी सांंसदले आफ्नै प्रदेशमा शपथ खान्छन्, आफ्नो प्रदेशभन्दा बाहिर गएर सपथ खाँदैनन्’ राजपा नेपालका नेता जितेन्द्र सोनलले भने ‘ संघीयता असफल बनाउन चालिएको सरकारी कदम बहिस्कार गर्छौं, हामी काठमाडौंमा शपथ लिदैनौं ।’ उनका अनुसार प्रदेश नम्बर २ भित्रै शपथ लिने कार्यक्रम बनाइएन भने मधेस केन्द्रित दलले शपथ कार्यक्रम बहिस्कार गर्नेछन् ।
संघीयता कार्यान्वयन गर्ने मुख्य कडीका रुपमा लिइएको प्रदेशसभा गठनको सुरुको चरण नै कार्यान्वयन नगरेकोमा मधेस केन्द्रित दलका नेता सरकारसँग आक्रोशित भएका छन् । नागरिकका अनुसार, देउवा सरकारको तयारीप्रति विमति जनाउन संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुरलगायतका नेतालाई ती दलबाट प्रदेशसभामा विजयी उम्मेदवारले खबरदारी गरिरहेका छन् ।