चिसो बढेपछि स्थानिय प्रशासनद्धारा दाउरा वितरण हुँदै
धनगढी : चिसोका कारण केही दिनयता जनजीवन प्रभावित बन्दै गएपछि धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रका विभिन्न स्थानमा शनिबारदेखि दाउरा वितरण गर्न शुरु गरेको छ । यस क्षेत्रमा लगातार एक सातायता बिहानैदेखि बाक्लो हुस्सु लाग्ने, शीतलहर चल्नेलगायत मौसम प्रतिकूल हुन थालेपछि दैनिक जीवनयापनमा समस्या उत्पन्न हुन थालेको हो ।
वितरणका लागि आवश्यक पर्ने दाउराको व्यवस्थाका लागि जिल्ला वन कार्यालयसँग कुराकानी भइसकेकाले नगरपालिकाको टिपरमार्फत दाउरा संकलन गरी वितरण गर्ने योजनामा रहेको नगर प्रमुख वडले बताए । शीतलहर सँगै चिसो अत्यधिक बढ्दै गएपछि यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
उपमहानगरपालिकाले बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै त्यसबाट प्रभावितलाई राहतस्वरुप बजारका चोकचोकमा दाउरा वितरण गरिएकोे जनाएको छ । नगर प्रमुख नृपबहादुर वडले शीतलहर सँगै चल्ने चिसो हावाका कारण केही दिनयता जनजीवन प्रभावित बन्दै गएपछि शनिबार बजारका मुख्य मुख्य चोकमा दाउरा वितरण गरिए पनि आजदेखि भित्री बस्ती तथा चोकमा समेत दाउरा वितरण गरिने जानकारी दिए ।