Logo
३ आश्विन २०८१, बिहीबार
(January 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिसोका कारण रौतहट जिल्लामा मात्र पाँचको मृत्यु

रौतहट : शितलहर सँगै रौतहटमा अत्यधिक चिसो बढेपछि कठांग्रिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । शनिबार राति मात्र दुई जनाको मृत्यु भएको छ । शनिबार राति परोहा नगरपालिका २ जिगडवाका ४५ वर्षीय शेख समिम र वडा नम्वर ९ रामपुरखापका ६५ बर्षिया मरठिया देवी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गएको शुक्रबार राति राजदेवी नगरपालिका ७ मुडबलवाका ७५ वर्षका अयोधी राय यादव र गढीमाई नगरपालिका १ समनपुर रहेको इँटा उद्योगका मजदुर सर्लाही रामवन घर भएका ५५ वर्षीय नेक महम्मद अलिको ज्यान गएको थियो । यस्तै गढीमाई नगरपालिका ४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजाम पनि चिसोका कारण ज्यान गएको प्रहरीको भनाइ छ । साँझ खाना खाएर सुतेरका उनीहरु बिहान मृत अवस्थामा भेटिएका हुन् । चिसोकै कारण उनीहरुको मृत्यु भएको शव परीक्षण प्रतिवेदन प्रहरीलाई प्राप्त भएको रौतहट प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए ।

एकसाता अघिदेखि शितलहर सँगै हावा चलेको र बाक्लो हुस्सु लागेकाले अत्याधिक जाडो बढेको छ । जाडोले सरकारी कार्यालयमा सेवाग्राहीहरु घटेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा विभिन्न स्थानमा आगो बालेर ताप्ने व्यवस्था गरिएको स्थानीय प्रशासनले जनाएको छ । चिसो बाट अति पीडित दलित तथा गरिब बस्तीमा कम्वल वितरण गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिएका छन् । जिल्ला वन कार्यालय रौतहटले स्थानीय प्रशासनको सिफारीसमा स्थानीय तहमा आगो ताप्नका लागि दाउरा वितरण गरेको रौतहटका डिएफओ दीर्घनारायण कोइरालाको भनाइ छ ।

प्रकाशित मिति: Jan 7, 2018

प्रतिक्रिया दिनुहोस्