‘राजा आऊ, देश बचाऊ’ भन्दै दाङमा उर्लियो जनसागर (फोटोफिचर)
काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा दाङमा जनसागर उर्लिएको छ । घोराहीस्थित गोरक्ष रत्ननाथ मन्दिर र अम्बिकेश्वरी मन्दिर दर्शन गर्न पुगेका पूर्वराजाको स्वागतमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै दाङमा जनसागर उर्लिएको हो । दाङका मन्दिरमा शाहले पूजाआजा गरी सबै शक्तिपिठहरुको अवलोकन पनि गरेका थिए । मन्दिर व्यवस्थापन समितिले मन्दिरको इतिहास र महत्वबारे प्रकाश पारेको थियो । समितिका पदाधिकारीले मन्दिरमा भएका समस्या पनि राखेका थिए ।
शाहले समस्या ध्यान दिएर सुने पनि कुनै प्रतिक्रिया दिएनन् । शाहलाई स्वागत गर्न समर्थकहरुको लामो लाइन लागेको थियो । स्वागतमा उपस्थित सयौं शुभचिन्तकहरुले ‘राजा आऊ, देश बचाऊ, हाम्रा राजा प्राणभन्दा प्यारा छन्,’ जस्ता नारा लगाएका थिए ।
समर्थकहरुले शाहलाई फूलमालाले स्वागत गर्दै विभिन्न समस्या पनि राखेका थिए । कतिपयले राजनीतिक दलहरुले राम्रो काम गर्न नसकेको गुनासो गर्दै शाहलाई देशको नेतृत्व गर्न आग्रह गरेका थिए । शाहले कुनै प्रतिक्रिया नजनाई सहमतिमा टाउको मात्रै हल्लाएका थिए ।
शाह नेपालगञ्जबाट गाडीमा लमही हुँदै घोराही आएका हुन् । लमहीको अर्जुनखोलामा पनि देउखुरी क्षेत्रका समर्थकहरु स्वागत गर्न सडकमा आएका थिए । शाहले भ्रमणको उद्देश्य केही बताएका छैनन् ।