Logo
३ आश्विन २०८१, बिहीबार
(January 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वदलीय बैठकमा प्रदेश प्रमुख र राजधानी तोक्न सहमति

काठमाडौं : प्रदेश राजधानी, प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा बोलाइएको सर्वदलीय बैठक सकिएको छ । बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले माओवादी नेताहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय सरकारको भएको भन्दै ति काम छिटो गर्न सुझाव दिएको बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकका विषयमा सहमती जनाउन आग्रह गरेका थिए । त्यस्तै बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्न पनि सरकारलाई दलका नेताहरुले सुझाव दिएका थिए । बैठकपछि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले चाडो प्रदेश प्रमुख र अस्थायी केन्द्रका बारेमा सरकारलाई निर्णयमा पुग्न सुझाव दिएको बताए ।

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले नयाँ जनादेश आइसकेको अवस्थामा सत्ता हस्तान्तरणलाई ढिलाइ गर्ने तथा प्रतिनिधिसभाको समानुपातिकको परिणाम रोकाउने काम भएकामा आफूहरुले गम्भीर ध्यानाकर्षण गराएको जनाए । उनले भने, “हामीले निर्वाचनअगावै प्रदेशको राजधानी र प्रमुखबारे निर्णय गर्न आग्रह गर्दा सरकारले सुनेन, अब सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने संवैधानिक र कानूनी काम सरकारले चाँडो पूरा गरोस्, अन्य दीर्घकालीन महत्वका निर्णय तथा सरुवा बढुवा नगरोस् भनेर स्पष्ट राखेका छौँ ।” उनले आयोगलाई सरकारले नै दबाब दिएर परिणाम रोकाएको आरोप लगाए ।

सर्वदलीय बैठकमा सहमति जुटाएर सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट यी तीनवटै विषयमा निर्णय गर्ने तयारी गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागि थिए । एमाले अध्यक्ष केपी ओली भने अस्वस्थताका कारण बैठकमा उपस्थित हुन सकेनन् ।

प्रकाशित मिति: Jan 4, 2018

प्रतिक्रिया दिनुहोस्