एकतापछि बन्ने नयाँ पार्टीको सानो टिमको गृहकार्य : माधव नेपाल
काठमाडाैँ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री र अध्यक्ष पदको भागबण्डा टुंगिन बाँकी रहेकाे बताए । उनले एकतापछि बन्ने नयाँ पार्टीको नेतृत्वमा सानो र छरितो टिम रहनेगरी एकताको गृहकार्य भइरहेको पनि बताए । नेता नेपालले एमाले—माओवादीबीचको पार्टी एकतापछि प्रधानमन्त्री, अध्यक्ष लगायतका पदको कसरी बाँडफाँट गर्ने भन्ने विषयमा छलफल भएरहेको तर टुंगिन बाँकी रहेको बताए । उनले भने,‘एमाले र माओवादीभित्र पनि छलफल हुन बाँकी छ, अरु नेताहरुका सन्दर्भमा पनि कुरा गर्नुपर्ने हुनसक्छ, यी सबै काम सहजतापूर्वक टुंगो लाग्छ ।’
‘सानो, छरितो र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्नेगरी छलफल र गृहकार्य चलिरहेको छ, वुधबार आयोजित साक्षात्कार कार्यक्रममा संचारकर्मीसँग नेपालले भने,‘पदका लागि मारामार गर्ने होइन, छरितो संरचना बनाएर नेताहरुको व्यवस्थापन गर्नुपर्छ, त्यसपछि महाधिवशेन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्छ ।’ एकता टुट्न सक्ने बजार हल्लामा कुनै सत्यता नरहेको भन्दै उनले समय लाग्नु स्वभाविक भएको बताए । ‘बजारमा थरी–थरीका सक्कली र नक्कली सामान पाइन्छन् । भात पाक्न पनि समय लाग्छ । अझ मिठो परिकार माछा–मासु पकाउनका लागि त समय लाग्छ नै, धैर्य गर्नुपर्छ,’ नेपालले भने,‘वाम गठबन्धन कुनै पनि हालतमा टुट्ने छैन, दुवै पार्टीभित्र हामी खारिएका परिपक्व नेता छौं ।’
नेपालले कांग्रेसमा चरम सत्तालिप्सा देखिएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै धेरै चिन्ता लिएर रोग नबढाउन सुझाव पनि दिए । ‘कांग्रेस जहिले पनि कुर्सी छोडन आलटाल गर्छ । नानीदेखि लागेको बानी अझै हटेको छैन । यो अत्यन्तै गलत सोच हो ।’ माधव नेपालले भने, ‘शेखर, रामचन्द्र र देउवा आत्तिनु पर्दैन, रोग लाग्ला । अब कम्तिमा पाँचवर्ष धैर्य गरेर रचनात्मक प्रतिपक्षमा बस्नुस् ।’
८ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय कमटी २ सय सदस्यीय र २१ सदस्यीय पोलिटब्यूरो भएको उदाहरण दिदै उनले नेपालमा पनि एकतापछि सानो कमिटी बनाएर धेरै काम गर्न सक्नेगरी अघि बढ्नुपर्नेमा जोड दिए । मिति तय भइनसके पनि छिट्टै एकता गर्नेगरी दुई पार्टीबीच एकल र द्विपक्षीय सम्बाद जारी रहेकोसमेत नेपालले जानकारी दिए ।