Logo
३ आश्विन २०८१, बिहीबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिरामीबाट चर्को शुल्क असुल्ने दुई ठूला अस्पतालविरुद्ध मुद्दा

काठमाडौं : बिरामीबाट चर्को शुल्क असुल्ने उपत्यकाका दुई ठूला अस्पतालविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।  महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रवीन्द्र धानुकका अनुसार पहिलो चरणमा दुई अस्पतालविरुद्ध मुद्दा दायर गरिएको छ । आपूर्ति विभागले उपत्यकाका अस्पतालले उपचारका नाममा ठगी गरेको भन्दै आवश्यक कारबाहीका लागि सोमबार प्रहरीमा पत्राचार गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) र बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालविरुद्ध ठगीअन्तर्गत मंगलबार मुद्दा दायर गरेको हो । ‘आपूर्ति विभागले पठाएको पत्रको आधारमा मंगलबार इशान र न्युरो अस्पतालविरुद्ध मुद्दा दायर गरेका छौं’, प्रहरी उपरीक्षक धानुकले भने,‘बाँकीविरुद्ध पनि केही दिनमै मुद्दा दायर गर्छौं।’

विभागका महानिर्देशक कुमार दाहालका अनुसार धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पताल, ग्वार्कोस्थित बीएन्डबी अस्पताल, बसुन्धरास्थित इशान बाल तथा महिला अस्पताल र बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) विरुद्ध मुद्दा दायर गर्न प्रहरीलाई पत्र पठाइएको थियो।

आपूर्तिको अनुगमनमा इशान अस्पतालले बेड, बेड चार्ज डिलक्स गरी एकै शीर्षकमा दुई पटकसम्म बिरामीबाट चर्को शुल्क असुल गरेको, गेट पास चार्ज, अपरेसन चार्ज, प्रक्रिया चार्ज, प्रि एनेक्स चार्ज तथा बिरामी कुरुवाको समेत शुल्क असुल गरेको भेटिएको थियो ।

न्युरो अस्पताल अनुगमनका क्रममा बिरामीसँग रजिस्ट्रेसन, कन्सलटेन्ट, अपरेसन, ल्याबलगायतमा चर्को मूल्य असुलपश्चात् पुनः १० प्रतिशत सेवा शुल्क लिएको फेला परेको थियो। महानिर्देशक दाहालका अनुसार एउटा बिरामीको कुल खर्च एक लाख हुँदा विभिन्न सेवा शुल्कका नाममा अतिरिक्त २५ हजार रुपैयाँ थप यस्ता अस्पतालले बिरामीबाट असुल गर्दै आएको अनुगमनमा भेटिएको छ।

महानगरीय प्रहरी परिसर टेकुले बीएन्डबी, ग्रान्डी इन्टरनेसनल, नर्भिक र बयोधाविरुद्ध अनुसन्धान सकेर यसै साता मुद्दा दायर गर्ने तयारी गरेको छ । राजधानीका सुविधा सम्पन्न अस्पतालले बिरामीसँग चर्काे शुल्क लिएको आपूर्ति विभागको अनुगमन टोलीले फेला पारेको थियो भन्दै अन्नपुर्णमा खबर छ ।  विभाग अनुगमन टोली संयोजक दीपकराज पोखरेलले धापासीस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलले बिरामीसँग चर्काे रकम असुलेको पाइएको जानकारी दिए ।

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्