कष्टकर जीवन बिताउन बाध्य मोतियाफाँटाका सुकुम्वासी
- नागरिक टाइम्स/ संवाददता
१९ पुस २०७४, बुधबार ००:००
कञ्चनपुर : पुनर्वास नगरपालिका–८ मोतियाफाँटाका सुकुम्वासी परिवार कष्टकर जीवन बिताउन बाध्य छन् ।
करिब डेढ बिगाहा क्षेत्रफलमा १७६ घरधुरी सुकुम्वासी परिवार बसोबास गर्दै आएको मोतियाफाँटामा सडक, विद्युत्, खानेपानी, स्वास्थ्यलगायतका आधारभूत सेवा सुविधा पुग्न सकेका छैनन् ।
गणतन्त्र आएर जनप्रतिनिधि चुनिएर कार्य क्षेत्रमा खटिँदासमेत पुरानै अवस्थामा बाँच्नु परेको गंगे सुनारले बताउनुभयो । नगरपालिकामा जनप्रतिनिधि आएपनि गाउँमा अहिलेसम्म कुनै पनि विकासका कार्यक्रम पुग्न नसकेको उहाँले बताउनुभयो ।
विसं २०७२ असारमा पुनर्वास नगरपालिका खुला दिसामुक्त नगर घोषणा भयो तर मोतिया गाउँको आधाभन्दा बढी बस्तीमा शौचालय नै छैन ।
एकसय ७६ घरधुरीमध्ये १०० घर परिवारले आर्थिक अभावले शौचालय बनाउन सकेका छैनन् । मोतियाफाँटामा अहिलेसम्म नत बिजुली बत्ती पुग्न सकेको छ न पर्याप्त खानेपानीको धारा नै छ, जग्गाको अभावमा शौचालय बनाउने ठाउँ पनि नरहेको स्थानीय बासिन्दा बताउँछन् ।
जीविकोपार्जनका लागि अधिकांश बासिन्दा भारततिर जान्छन् भने कतिपय गाउँमै ज्याला मजदुरी गर्छन् । “नेपाल भारत सीमादेखि करिब २०० मिटरको दूरीमा रहेको मोतियामा राज्यले त ठग्यो नै भारतीय दुधवा नेशनल पार्कबाट वर्षेनी आउने जंगली हात्तीले घर भत्काइदिने, थोरै जग्गामा लगाएका बालीनाली तहसनहस पारिदिने गरेकाले झनै समस्या सिर्जना हुँदै आएको छ” समाजसेवी लहविर सुनारले भन्नुभयो ।
करिब ८० प्रतिशत दलित परिवार बसोबास गर्ने मोतियावासीले आफ्नै पहलमा सञ्चालन गरेको स्थानीय नवदुर्गा आधारभूत विद्यालयसमेत चन्दा संकलनबाट सञ्चालन हुँदै आएको छ ।
आधारभूत तहसम्म पढाइ हुने नवदुर्गामा दुईजना अस्थायी दरबन्दी एकजना राहत र एकजना निजी गरी चारजना शिक्षकले विद्यालय सञ्चालन गरेका छन् । “चुनावमा धेरैले आशा देखाए, चुनाव जितेपछि पनि बस्तीका आधारभूत समस्या समाधान गर्न चासो देखाइएको छैन” स्थानीय वीरे बुढाले भन्नुभयो ।
बस्ने बासभन्दा बस्तीका अरु कुनै सुविधा प्राप्त नभएकाले कष्टकर जीवन बिताउँदै आएको दुखेसो सोना मिजारले पोख्नुभयो । घनाबस्तीका कारण गाउँमा अहिलेसम्म तीनपटकसम्म आगलागी हुँदा बस्ने घर र घरभित्र राखिएको सम्पत्ति जलेर नष्ट भएको उहाँले बताउनुभयो । आगलागीबाट पीडित बन्दासमेत सोधखबर लिनसमेत कोही बस्तीमा नपुगेको उहाँले बताउनुभयो ।
स्थानीय जनजागरण सामुदायिक वनमा सदस्य भएकाले बेलाबेलामा घर निर्माणका लागि केही काठ भने बस्तीका बासिन्दाले पाउने गरेका छन् । समस्याले जेलिएको मोतियाफाँटाका बासिन्दाले आफ्नो गाउँठाउँमा पनि विकास हेर्न चाहेका छन् । राजेन्द्रप्रसाद पनेरु/ RSS