पुर्व DIG एंव सांसद सिलवाललाई पत्र काटेर बयानका लागि बोलाइयो
काठमाडौँ : सरकारी छाप तथा दस्तखत कीर्तेमा काठमाडौं प्रहरी परिसरले पुर्व डिआईजी नवराज सिलवाललाई बयानका लागि बोलाइएको छ । ललितपुरबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका सिलवाललाई बयानका लागि बोलाइएको हो । परिसरले ललितपुर जिल्ला प्रहरीमार्फत सिलवाललाई पत्र काटेको जानकारी दिएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्दले सिलवाललाई पत्र काटिएको जानकारी दिएका छन् ।
सर्वोच्चले यस विषयमा संलग्नहरुको पहिचान गरी कारबाही गर्न आदेश दिएको थियो । केही साताअघि काठमाडौं प्रहरी परिसरमा उक्त विषयमा सरकारी दस्तखत तथा छाप कीर्तेमा मुद्दा दर्ता भएपनि कसैविरुद्ध किटानी जाहेरी दर्ता भएको थिएन । ललितपुर प्रहरी परिसरका प्रवक्ता नरेन्द्र चन्दले त्यस्ता कुनै पत्र प्राप्त नभएको जानकारी दिए । ‘म साढे छसम्म अफिसमै थिएँ, त्यसबेला सम्म केही आएको थिएन ।’
‘काठमाडौं प्रहरी परिसर प्रमुखले सिलवाललाई पत्र काटिएकोबारे जानकारी दिएका छन्’, एआईजी चन्दले भने । यस विषयमा काठमाडौं परिसरका प्रहरी अधिकारीलाई सम्पर्क गर्न खोज्दा कुनै प्रतिक्रिया दिन चाहेनन् । उनी गत महिना सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । प्रहरी महानिरीक्षक (आईजी) नियुक्ति विवादमा सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्य सम्पादन मूल्यांकन (कासमु) फाइल किर्ते भएको अदालतले निष्कर्श निकालेको थियो ।