Logo
१३ पुस २०८१, शनिबार
(January 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वप्रकाश शर्माले भने-कांग्रेस हारेपनि बिपी विचारको जित भयो

चितवन : नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीयरुपमा कमजोर भएपनि बिपीको विचारको जित भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस, चितवनले आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बिपीको मेलमिलाप र अबको काँग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै उहाँले काँग्रेसको हार भएपनि बिपीको विचारको जित भएको बताउनुभएको हो ।

बिपीको विचारलाई मनन गर्दै कम्युनिष्ट अघि बढ्न थालेको भन्दै उहाँले अहिलेको हारबाट काँग्रेसका कार्यकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । बल र बन्दुकबाट सत्ता प्राप्ति हुँदैन भन्ने बिपीको विचारमा कम्युनिष्ट आइरहेको भन्दै उहाँले काँग्रेस हारे पनि देशले जित्नुपर्ने बताउनुभयो ।

काँग्रेसले मधेश—पहाड—तराई जोड्न सकेको भन्दै उहाँले बिपीले देखाएको बाटोमा हिँड्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । बिपीको विचारलाई परिस्कृत गर्दै समाज रुपान्तरण र पार्टी रुपान्तरणमा जानु आवश्यक रहेको नेता शर्माले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य बद्रि पाण्डेले नेपालको राजनीतिमा अझै मेलमलापको आवश्यकता रहेको बताउनुभयो । अहिले राजनीतिक मुद्दा सकिएको भन्दै उहाँले अब मेलमिलापका माध्यमबाट देशको विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।

प्रजातन्त्रमा सबैको जित हुने भन्दै उहाँले सबै दलमा सहिष्णुताको आवश्यकता रहेको बताउनुभयो । अब काँग्रेसजनले व्यक्तिगत इच्छालाई थाति राख्दै पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्न जरुरी रहेको पाण्डेले बताउनुभयो ।

नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्व सांसद सावित्री बोगटी पाठक, पूर्व सभापति टेकप्रसाद गुरुङ, कृष्णलाल सापकोटालगायतको सहभागिता रहेको थियो

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्