माओवादीका बिनाविभागीय मन्त्रिहरुले अझै कुर्सी छाडेनन्
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ मै जिम्मेवारीविहीन बनाए पनि माओवादी केन्द्रका मन्त्रीहरूले अहिलेसम्म कुर्सी छाडेका छैनन् ।
विना विभागीयका हिसाबले माओवादीका तर्फबाट कृष्णबहादुर महरा बिनाविभागीय उपप्रधानमन्त्री छन् भने गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु साह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला र सन्तकुमार दरै बिनाविभागीय मन्त्री छन् ।
यसैगरी, मोहम्मद जाकिर हुसैन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर विक, गोमा कुँवर र वाङ्दी शेर्पा बिनाविभागीय राज्यमन्त्री छन् । उनीहरू मन्त्रिपरिषद् बैठकमा कहिलेकाहीँ मात्रै सहभागी हुने प्रधानमन्त्री कार्यालयका अधिकारी बताउँछन् ।
जिम्मेवारीविहीन मन्त्रीहरूले मासिक ६० हजार ९ सय ७० रुपैयाँ तलबबापत बुझ्दै आइरहेका छन् भने इन्धनबापत २ सय ७ लिटर पेट्रोलको मूल्यबराबर रकमसमेत प्रधानमन्त्री कार्यालयबाट लिइरहेका छन् ।
जिल्लामा जाँदा दैनिक भ्रमण भत्ताबापत तीन हजार रुपैयाँसमेत उनीहरूले लिइरहेका छन् । बिनाविभागीय सबै मन्त्रीको निजी सचिवालयका स्वकीय सचिव, स्वकीय अधिकृत, प्रशासन सहायक, सवारीचालक र कार्यालय सहयोगीले समेत तलबभत्ता बुझ्दै आइरहेका छन् ।
क्वार्टरबाहिर बसिरहेका मन्त्री/राज्यमन्त्रीले घरभाडाबापत मासिक ४० हजार रुपैयाँ लिइरहेका छन् । यसले राज्यकोष दोहन भएको पाइन्छ ।