आजदेखि स्वस्थानी सुरु : शालीनदीमा माधवनारायण मेला
काठमाडौं : आजदेखि स्वस्थानी व्रत सुरु भएको छ । सनातन धर्मावलम्बीहरूले आजदेखि स्वस्थानी व्रत सुरु गरेका हुन । नेपाली सनातन समाजमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने परम्परा छ ।
एक महिनासम्म मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र माहत्म्य वाचन वा श्रवण गर्ने परम्परा छ । व्रतको अन्तिम दिन अर्थात् माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण पूजासामग्रीसहित अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवं मौसमअनुसारका फलफूलहरु एक सय आठको संख्यामा चढाई शिवलिङ्ग र ओमकारयुक्त अष्टदलमा श्रीस्वस्थानीको विशेष पूजा गरिन्छ ।
श्रीस्वस्थानीलाई चढाइएका १०८ मध्ये आठ\आठ वस्तु पति\पत्नी वा छोरा\छोरीलाई दिइन्छ । प्रसाद दिने व्यक्ति नभए नदीमा बगाउने चलन छ । चढाइएका पदार्थमध्ये एक सय रोटी आदि वस्तुहरु व्रतालु आफैंले खाने गर्छन् ।
सोमवार नै काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायण मेला सुरु भएको छ । श्रद्धालुहरू महिनाभर शालीनदी किनारमा बसी निष्ठापूर्वक व्रत पूरा गर्छन् ।