Logo
२० कार्तिक २०८१, मंगलबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्धसैनिक शिविरमा आक्रमण, ५ सुरक्षाकर्मीले ज्यान गुमाए

भारतीय सुरक्षाफौजमाथि अर्को ठुलो हमला भएको छ । जम्मु-कश्मिरस्थित केन्द्रीय रिजर्भ पुलिस फोर्सको क्याम्पमा आइतबार मध्यराति आक्रमण भएपछि भएको भिडन्तमा कम्तिमा ५ भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएका हुन् । यो घटनामा सीआरपीएफका पाँच जवान मारिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जवाफी कारबाहीमा दुईजना आक्रमणकारी मारिएको पनि बताइएको छ । करिब १२ घन्टासम्म चलेको भिडन्तका क्रममा अन्य तीनजना भारतीय सुरक्षाकर्मी घाइते भएका छन् ।

एबिपि न्यूजका अनुसार आतंकवादी संगठन जैस ए मोहम्मदका सशस्त्र हतियारधारी सदस्यले केन्द्रीय रिजर्भ पुलिस फोर्सको तालिम केन्द्रमा हमला गरेपछि यो घटना भएको हो । आइतवार बिहान करिब २ बजे आतंकवादीहरुको समूह पुलवामास्थित लेथपोराको १८५ सीआरपीएफ बटालियनको तालिम केन्द्रमा पसेको थियो । उनीहरुले त्यहाँ पसेर पहिले ग्रिनेड हानेका थिए । त्यसपछि उनीहरुले लगातार गोली बर्साएका थिए ।

आक्रमणकारी घुसेपछि गेटमै रोक्ने प्रयास भएको थियो । त्यस क्रममा तीनजना सिपाही घाइते भएका थिए । गोली लागेका जवानहरुको अस्पतालमा मृत्यु भएको बताइएको छ । जवाफी कारवाहीका क्रममा एक अन्य जवान सैफुदिन पनि मारिएका थिए । भिडन्तपछि खानतलासी गर्दा दुईजना आक्रमणकारीको शव भेटिएको छ । आतंकवादी संगठन जैश-ए-मोहम्मदले यस आत्मघाती हमलाको जिम्मेवारी लिएको छ। जैशका प्रवक्ता हसन शाह यो हमलामा आफ्ना साथीहरु नुर त्राली र तलह रशिदको हत्याको बदला लिन सीआरपीएफ क्याम्पमा हमला गरिएको बताएका छन् ।

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्