तीन सय निवर्तमान सांसदहरूले रातो पासपोर्ट बुझाएनन
काठमाडौं : तीन सय बढी निवर्तमान सांसदहरूले रातो पासपोर्ट बुझाएका छैनन् । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी दर्ता भएको दिन असोज २९ गतेदेखि निवर्तमान भएका ती सांसदहरूले अझै पनि कूटनीतिक राहदानी (पासपोर्ट) फिर्ता गरेका छैनन् ।
निवर्तमान भएको सात दिनभित्र रातो पासपोर्टलगायत सांसदको हैसियतमा प्राप्त सबै सुविधा राज्यलाई फिर्ता गर्नुपर्ने कानुनी व्यवस्थाको उल्लंघन गर्दै उनीहरूले रातो पासपोर्ट दुई महिनादेखि आफैंसँग राखेका हुन् ।
रातो पासपोर्ट लिएका ५ सय ४३ मध्ये मंगलबारसम्म २ सय ३९ निवर्तमान सांसदले मात्र फिर्ता गरेका छन् । अझै ३ सय ४ जना संसदले बुझाउन बाँकी छ । संसद् सचिवालय र राहदानी विभागले सूचना नै जारी गरेर रातो पासपोर्ट बुझाउन आग्रह गरे पनि उनीहरूले अटेर गर्दै आएका छन् ।
व्यवस्थापिका संसद् अन्त्य हुँदा ५ सय ९१ सांसद रहेका भए पनि ५ सय ४३ जनाले मात्र रातो पासपोर्टका लागि विभागबाट सिफारिस लिएका थिए ।
मन्त्री भएकाले सिफारिस लिनु नपर्ने व्यवस्था छ । संविधानअनुसार संसद्को समयावधि ०७४ माघ ७ सम्म हुनसक्ने अवस्थामा ती सांसदले थप ६ महिनासहित २०७५ साउन मसान्तसम्मको म्याद राखेर सांसदहरूले रातो पासपोर्ट लिएका हुन् । राहदानी विभागले पासपोर्ट रद्द गराएर पछि पनि विभागमा नबुझाई आफैं लैजानसमेत दिएको छ ।