Logo
३ बैशाख २०८२, बुधबार
(December 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीले निर्णय गरे राष्ट्रपति बन्न तयार छु : नेपाल

काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीले प्रस्ताव ल्याएमा आफू भावी राष्ट्रपति बन्न तयार रहेको बताएका छन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने गरी प्रक्रिया शुरु भइरहेको बेलामा नेता नेपालले राष्ट्रपति बन्ने प्रस्ताव आएमा स्वीकार गर्ने बताएका हुन् ।

काठमाडौंबाट प्रतिनिधिसभामा विजयी जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गर्न पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी सङ्घ, काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले वाम गठबन्धनको सरकार केहि दिनमा नै बन्ने बताए ।

भावी राष्ट्रपतिका रुपमा वाम गठबन्धन भित्र नेपालको नामसमेत चर्चामा रहेको बारेमा नागरिक टाइम्सले गरेको प्रश्नमा उनले भने, ‘आफू अहिले पूर्व प्रधानमन्त्री, सांसद तथा पार्टीको जिम्मेवार नेताको रुपमा रहेको छु । पार्टीले आगामी दिनमा दिने जुनसुकै जिम्मेवारी लिन तयार छु ।’

काठमाडौं क्षेत्र नं २ बाट विजयी नेता नेपालले वाम गठबन्धनको सरकारबाट नेपाली काङ्ग्रेस आत्तिनु नपर्ने बताए । आफूहरु प्रतिपक्षि दलसँग् मिलेरै अगाडि बढ्न तयार रहेको बताए । बरु नयाँ सरकार गठनमा काङ्ग्रेसले अवरोध गरिहेको बताए । सरकारबाट राजीनामा दिएर प्रधानमन्त्रीले नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गरिदिनु पर्ने बताएका छन् ।

वाम गठबन्धनमा देखा परेको खटपटका विषयमा राखिएको प्रश्नमा उनले भने, गठबन्धनमा कुनै किसिमको समस्या छैन्, प्रचण्डजी पूर्व निर्धारित कार्यक्रम अनुसार नै चितवनमा जानु भएको हो । केहि दिनमा नै बसेर पार्टी एकता र सरकार निर्माण संगसँगै गर्नेछौं ।’

प्रकाशित मिति: Dec 27, 2017

प्रतिक्रिया दिनुहोस्