यस्कारण बस्न सकेन एमाले-माओवादी एकता संयोजन समितिको बैठक
काठमाण्डौ । मगलवार बस्ने भनिएको नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक बस्न सकेन ।वर्षमान पुनका अनुसार भोली बैठक बस्ने तयारी भएको छ । माओवादी नेता पुनले पार्टी एकताका लागि मापदण्ड बनाएर अघि बढ्ने गरी बुधबार बैठक बस्ने तयारी भएको बताएका छन् ।
भोलीको बैठकका लागि तयारीस्वरुप आजै राती एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबिच बैठक बस्ने तयारी भइरहेको बताइएको छ । बाम गठवन्धनका नेताहरुको व्यस्तता र विवादास्पद अभिव्यक्तिसँगै पार्टी एकता प्रक्रिया प्रभावित भएको हो । पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगै लैजाने बताएपनि एकता संयोजन समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।
समितिको ८ गते बस्ने भनिएको बैठक समेत बस्न सकेन । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित संयोजन समितिमा रहेका अधिकांश नेताको व्यस्तताका कारण बैठक प्रभावित भएको हो । यो बीचमा दुवै दलका नेताहरुले एकता प्रक्रिया नै प्रभावित हुने अभिव्यक्ति दिइरहेका छन् ।
पछिल्लो समय राष्ट्रिय राजनीतिक बाधक बनिरहेको राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा पनि एमाले र माओवादी केन्द्रबीच फरक धार देखिएको छ । एमालेले बहुमतीय आधारमा अध्यादेश आउनुपर्ने अडान लिइरहँदा माओवादी केन्द्र भने काँग्रेस नेतृत्वको सरकारले ल्याएको एकल संक्रमणीय व्यवस्थामा केही लचक देखिएको छ ।