स्थानीय तहमा कर्मचारी पठाउन सरकार पूर्णरुपमा असफल
काठमाडौं : स्थानीय तहमा कर्मचारी पठाउन सरकार पूर्णरुपमा असफल देखिएको छ । सिंहदरबारको सेवा घरदौलोमा लैजाने सरकारले बताएपनि स्थानीय तहमा जान कर्मचारीहरुले मानेका छैनन् र सरकारले समेत कर्मचारी खटाउन नसकेको पाइएको छ ।
सरकारले आवश्यकताअनुसार कर्मचारी पठाउन नसक्दा स्थानीय तहले लामो समयदेखि विभिन्न समस्या झेल्दै आएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार मुलुकभरका सात सय ५३ वटा स्थानीय तहमा ३६ हजार कर्मचारी आवश्यक पर्छ । तर, अहिले करिब १८ हजार मात्रै कार्यरत छन् ।
अझै १८ हजारकै हाराहारीमा स्थानीय तहमा कर्मचारी आवश्यकता छ । कर्मचारी अभावमा तहले दिने महत्वपूर्ण काम अवरुद्धजस्तै हुन पुगेको स्थानीय विकास मन्त्रालयले जनाएको छ । स्थानीय विकास मन्त्राएका एक अधिकारीले कर्मचारी अभावमा स्थानीय तहको सेवा प्रवाह एकदमै कमजोर रहेको स्वीकारे ।
स्थानीय विकास मन्त्रालयले केही महिनादेखि तहहरूमा हाललाई आवश्यक पर्ने कर्मचारी दरबन्दीको अध्ययन गरेको थियो । संविधानले दिएको अधिकार सूचीअनुसार काम गर्न पनि तत्काल ३६ हजार ४ सय १५ कर्मचारी आवश्यक पर्ने अध्ययनले देखाएको थियो ।
सामान्य प्रशासन मन्त्रालयले दुई महिनाअघि मुस्किलले १५ सय कर्मचारी पठाए पनि आधाभन्दा बढी तहमा गएका छैनन् । यसरी सरकारले कर्मचारीलाई ताकेता नगर्दा कतै संघीयतालेनै फेल खाने त होइन भन्ने चिन्ता उब्जिन थालेको छ ।