Logo
३ आश्विन २०८१, बिहीबार
(December 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुराम पनि सक्रिय : ‘फोरम’ सरकार गठनमा ‘निर्णायक’ !

काठमाडौं : वाम गठबन्धनले दुईतिहाइनजिक बहुमत पाए पनि सत्तारोहणमा संघीय फोरम निर्णायक देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले १६ सांसद रहेको यही पार्टी देखाउँदै एक-अर्कालाई दबाबमा राख्न खोजिरहेका छन् ।

ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवसँग यसै विषयमा चरणबद्ध कुराकानी गरेको बालकोट र फोरम दुवै स्रोतले पुष्टि गरे । ओलीनिकट नेताहरूले भने संसद्मा नवनिर्वाचित पाँच राष्ट्रिय पार्टीमध्ये जोकसैसँग छलफल हुनु स्वाभाविक रहेको भन्दै ओली-यादव भेटको बचाउ गरे । ‘ओली र यादवको शनिबारयता तीनपल्ट कुरा भइसक्यो, प्रचण्डले आलोपालो प्रधानमन्त्री मागेपछि उहाँ असन्तुष्ट बन्नुभएको छ,’ स्रोतले भन्यो, ‘सरकार त एमाले-माओवादीकै बन्ला तर दुवै पार्टीले फोरमलाई देखाएर एकअर्कालाई साइजमा राख्न खोजेका हुन् ।’ अन्नपूर्णका अनुशार, दाहालले केही दिनअघि चितवन पुगेर आलोपालो सत्तारोहणको सहमति खुलासा गरेका थिए । अनि एमालेले फोरमसँग मिलेर आफ्नो पार्टीलाई दबाबमा राख्न खोजेको पनि नवलपरासीको अर्को कार्यकर्ता भेटमा व्यक्त गरेका थिए ।

बाबुराम पनि बालकोटमा
नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई सोमबार बिहान ओली भेट्न बालकोट निवास पुगे । चुनावी जितका लागि बधाई दिए । अनि ४५ मिनेट गफिए । नयाँ शक्तिसँग आबद्ध एक बुद्धिजीवीका अनुसार भट्टराईले ओलीलाई स्थिर सरकार र आर्थिक समृद्धिको एजेन्डाका लागि आफ्नो आवश्यकता खड्किए ‘सघाउन तयार रहेको’ सन्देश यसअघि नै पुर्‍याइसकेका छन् । भट्टराईले ओली भेटमा यसबारे कुनै कुरा नभएको दाबी गरे ।

बालकोट स्रोतले भट्टराईको पहलमा भेट भएको दाबी गर्दै गर्दा भट्टराईका सहयोगीले ओलीकै आग्रहमा भेट भएको जिकिर गरेका छन् । ‘प्रचण्ड र ओली दुवैलाई गोरखाबाटै टेलिफोनमा बधाई दिनुभएको थियो, ओलीले भेटेर कुरा गरौं भन्नुभएकाले बधाई दिन आउनुभएको हो,’ ती सहयोगीले भने ।

प्रकाशित मिति: Dec 26, 2017

प्रतिक्रिया दिनुहोस्