सहकार्य गर्न उपेन्द्र यादवसंग राष्ट्रपतिको आग्रह
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनका लागि दलहरुबीच सहमति र सहकार्य जरुरी रहेको बताएकी छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा राष्ट्रपति भण्डारीले संविधान र कानूनअनुसार राष्ट्रियसभाको निर्वाचन गर्नका लागि दलहरु मिलेर जानका लागि आह्वान गरेकी छन् ।
‘राष्ट्रियसभाको निर्वाचनका लागि दलहरु मिल्नुको विकल्प छैन’, राष्ट्रपतिलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ माधव शर्माले भने । राष्ट्रियसभा गठन गर्न बहुमतीय कि एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा दलबीच सहमति हुन सकेको छैन । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका शीर्ष नेतासँग पनि शुक्रबार छलफल गरेकी थिइन् ।