Logo
१८ पुस २०८१, बिहीबार
(December 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामदेवको घरमा ओलीको ब्रिफिङ : एमालेको अडान यथावत

काठमाडौं : नेकपा एमालेले राष्ट्रियसभाको चुनावमा एकल संक्रमणीय प्रणाली अस्वीकार्य हुने आफ्नो अडानलाई कायमै राखेको छ । साथै उसले माओवादी पार्टीसँग एकता प्रक्रिया पूरा गर्न केही समय लाग्ने ठहर गरेको छ । अपरान्ह भैंसेपाटीस्थित वामदेव गौतमको घरमा बसेको स्थायी कमिटीको बैठकले पनि एकल संक्रमणीय प्रणालीविरुद्ध पार्टीको अडान यथावत राख्ने निर्णय गरेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बोलाएको पाँच दलको बैठकमा एमाले नेताहरुले अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेका थिए । एमालेले छिटोभन्दा छिटो नयाँ सरकार गठनको वातावरण बनाउन निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक शुक्रबार बसेको स्थायी कमिटी बैठकमा चुनावी परिणामको समीक्षा गर्नुका साथै सामयिक राजनीतिक परिस्थितिबारे छलफल र विश्लेषण भएको थियो । राष्ट्रियसभाको गठन नेपालको संविधानको व्यवस्था र यससम्बन्धी विधेयक निर्माणका क्रममा राजनीतिक दलहरुबीच भएको पूर्वसमझदारीअनुरुप नै हुनुपर्ने ठहर बैठकले गरेको एमाले सचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

बैठकले सरकार गठनको तयारी र पार्टी एकीकरणसम्बन्धी कामलाई तीव्रता दिँदै यसलाई यथाशीघ्र छिटो निष्कर्षमा पुर्‍याउने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितिका बारेमा नेताहरुलाई जानकारी गराएका थिए । नयाँ सरकार गठनमा नेपाली कांग्रेसले नियतवश अवरोध सिर्जना गरिरहेको ओलीले बताएका थिए ।

शनिबार पार्टी एकता संयोजन समितिको बैठक बसेपछि पार्टी एकताको प्रक्रिया अघि बढ्ने उनले बैठकलाई जानकारी दिए । पार्टी एकताको निर्णय भइसके पनि यसको समग्र प्रक्रियाले पूर्णता पाउन केही समय लाग्ने ओलीले बताएका थिए । पार्टीका नीति सिद्धान्त र बिचारहरुमा एकरुपता कायम गर्ने र नेता कार्यकर्ताको व्यवस्थापन गर्ने प्रक्रियाले समय लिने ओलीले बताएका थिए ।

 

प्रकाशित मिति: Dec 22, 2017

प्रतिक्रिया दिनुहोस्