राष्ट्रिय सभा समावेशी समानुपातिक बनाउने : दाहाल
चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा समानुपातिक र समावेशी स्वरुपको बनाउने चलन अन्तराष्ट्रिय रुपमा नै रहेको बताएका छन् । शुक्रबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले भने ‘यो कसरी हुन सक्छ भोलि नै बाम गठबन्धनको बैठक बसेर सकारात्मक ढंगको निकास निकाल्ने गरी अन्तिम धारणा सार्वजनिक गर्ने छौं।’
राष्ट्रिय सभा निर्वाचनमा बहुमतीय विधि अंगाल्ने कि एकल संक्रमणीय विधिबाट गर्ने भन्ने विवाद अहिले देखा परेको छ । सत्ता पक्षले एकल संक्रमणीय विधिबाट गर्ने अध्ययादेश पठाए पनि राष्ट्रिपतिबाट स्वीकृत भएको छैन । बाम गठबन्धनको एक घटक एमालेले अध्ययादेशको विरोध गर्दै राष्ट्रिय सभाको गठन बहुमतीय विधिबाट हुनु पर्ने अडान राख्दै आएको छ ।
यो विषयमा छलफल गर्न शुक्रबार नै प्रधानमन्त्री निवासमा बाम गठवन्धनसहित पाँच दलको बैठक पनि बसेको थियो । तर कुनै निकास आएको छैन । ‘संविधानले प्रष्टसँग केही भनेको छैन । विगतमा राष्ट्रिय सभाको निर्वाचन एकलसंक्रमणीय विधिबाट हुने भनेर संविधानमा नै थियो । यो पटक त्यस्तो छैन । त्यसैले निकासका लागि बाम गठन्धनबाटै एउटा निश्कर्ष ल्याउँने छौं’ दाहालले भने ।
पाँच दलको बैठकमा पनि अध्ययादेश र अन्य राजनीतिक समजदारी बनाएर नयाँ जनादेश अनुसार छिटोभन्दा छिटो सरकार गठन गर्ने विषयमा छलफल भए पनि निर्णय केही नभएको दाहालले बताए। ‘तर यस्तो छलफल आवश्यक छ। फेरि दुई पक्षीय कुराकानी गरेर सहमति बनाउन प्रयास जारी राख्ने भन्दै म निस्केको हुँ’ दाहालले भने।