भाग २ : मानव जीवन र धर्म के हो ?
हामीले उद्देश्यसहित नै धर्मलाई “कर्तव्य वा पेशा” भनेर भनेका छौं किनभने धर्मको मूल अर्थ भनेको “जसले गर्दा प्राणीले जीवन यापन गर्न सक्दछ ।” भगवान् श्रीकृष्णसँग शाश्वत सम्बन्ध राख्न सकिने कार्यहरुबाट नै प्राणीले आफ्नो जीवन यापनगर्न सक्दछ । भगवान् श्रीकृष्ण नै सबै प्राणीहरुका केन्द्रीय मूलआधार हुनुहुन्छ । उहाँले सबै प्राणीलाई पूर्णरुपले आकर्षित गर्नुहुन्छ र उहाँको रुप दिव्य र शाश्वत छ ।
प्रत्येक प्राणीको आध्यात्मिक जीवनमा शाश्वत रुप हुन्छ भने भगवान् श्रीकृष्ण ती सबैलाई नित्यआकर्षित गर्ने गरि रहनु हुन्छ । भगवान् श्रीकृष्ण पूर्ण हुनुहुन्छ, अन्य सबै उहाँको अशं मात्रहुन् । दुईबीचको सम्बन्ध स्वामी र सेवक जस्तो हो । त्यो सबै दिव्य हुन्छ र यस भौतिक अवस्थाको अनुभव भन्दा सर्वथा भिन्न हुन्छ । त्यस्तो स्वामी र सेवकको सम्बन्ध उचित र घनिष्ठतामा आधारित हुन्छ ।
भक्तिमय सेवामा प्रगति गर्दै जाँदा त्यसको अनुभव गर्न सकिन्छ । त्यसैले, हामी सबैले अहिले यो भौतिक वद्ध अवस्थामा रहेर पनि भगवान्को दिव्यभक्तिमय सेवामा आफूलाई लगाई रहनुपर्दछ । त्यसो गरेमा बिस्तारै उसले आफ्नो वास्तविक जीवनको सूत्र प्राप्त गर्दछ, जसबाट उसले पूर्ण सन्तुष्टि प्राप्त गर्दछ ।
हामीहरु सबै केवल पूर्ण आत्मसन्तुष्टि वा आत्मसुप्रसादका लागि आकर्षित भइरहेका छौं वा अल्झिरहेका छौं तर सर्वप्रथम हामीले “हामी को हौं?” भन्ने कुरा जान्नुपर्दछ । आत्माशब्दको अर्थ शरीर, मन र आत्मालाई बुझाउँदछ । वास्तवमा हाम्रो यो आत्मालाई दुई प्रकारका वस्त्रले ढाकेर राखेका छन् । जसरी एउटा व्यक्तिको शरीरलाई उसको कमीज, कोट आदि वस्त्रले ढाकेर राखेको हुन्छ, त्यसै गरेर हाम्रो आत्मालाई पनि स्थूल शरीररुपी भौतिक इन्द्रियहरुले, सूक्ष्मशरीर रुपी मन, बुद्धि र अहंकारले ढाकेर राखेका हुन्छन् । जुन व्यक्ति झुटो अहंकारले ढाकिएको हुन्छ, उसले आफूलाई यो शरीर द्वारा परिचय गराउँदछ । जब हामीले उसलाई सोध्दछौं अनि उसले उत्तर दिन्छ – “म अमेरिकन हुँ, म नेपाली हुँ, ।” तर, यो परिचय शरीरको हो र त्यो वास्तवमा उसको सहि परिचय होइन ।