Logo
१८ पुस २०८१, बिहीबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्यास उद्योगमा भीषण आगलागी, २ जनाको मृत्यु

वीरगञ्ज : वीरगञ्जको सुपर ग्यास उद्योगमा बुधबार बिहान लागेको आगलागी अझै नियन्त्रणमा आएको छैन । वीरगञ्ज महानगरपालिका–२४ स्थित पटेल नगरमा रहेको उद्योगमा बिहान सवा ६ बजेतिर भीषण आगलागी भएको थियो । आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भएको छैन ।

आगो निभाउने क्रममा वीरगञ्ज महानगरपालिकाको एउटा बारुणयन्त्रसमेत जलेको सशस्त्र प्रहरीका उपरिक्षक शान्तिकुमार कार्कीले बताए । बारुणयन्त्रका २ जना कर्मचारी सम्पर्कविहीन छन् । आगो नियन्त्रणमा आइनसकेकाले केकति क्षति भएको भन्नेबारे यकिन भइसकेको छैन । आगो निभाउने प्रयास भइरहे पनि सफल नभएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गणेश रेग्मीले बताए ।

महानगरको दमकलका कामदार सविन नेपाल र अरुणकुमार महतो जलेर गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । आगलागी नियन्त्रणमा आउन नसकेपछि उद्योग आसपासका बासिन्दा आतङ्कित भएका छन् । उनीहरु आआफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ भागेका छन् । प्रहरीले उद्योगको १ किलोमीटर मीटर वरपर कसैलाई जान दिएको छै्रन । उद्योगबाट सिलिण्डर पड्किएको आवाज आइरहेको छ ।

ग्यास राखेको ट्याङकीमा लिक हुँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बारा, पर्सा र रौतहटका बारुणयन्त्र ल्याइए पनि नजिक जान सकेका छैनन् । भारतको बिहारबाट आगो निभाउने रासयनसहित आएको नियन्त्रकसमेत नजिकै जान सकेका छैनन् । उद्योग हातामा रहेका २ ओटा ग्यास बुलेट छन् । तीमध्ये एउटा ग्यास बुलेटमा छेउमा आगो बलिरहेको प्रत्यक्षदर्शीले बताए । बुलेटमा आगो लागे ठूलो क्षति हुने आशंका गरिएको छ । अहिले प्रहरीका उच्च अधिकारीहरु घटनास्थलमा पुगेका छन् ।

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्