Logo
३ आश्विन २०८१, बिहीबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मओवादी र सरकारबारे रणनीति बनाउन ‘कोर’ टिमसहित ओली लाङटाङमा

नागरिक टाइम्स,
काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीका आफ्ना निकट्तम नेताहरु सहित लाङटाङ पुगेका छन् । उनका प्रेस संयोजक चेतन अधिकारीले मंगलवार विहान ‘रेडी टू लाङटाङ’ भन्दै हेलिकप्टरसहितको तस्वीर फेसवुकमा सार्वजानिक गरेका हुन् ।  ओलीले विषेश रणनीति बनाउन लाङटाङ पुगेको बुझिएको छ । उक्त भ्रमणपछि नेपाली राजनीतिमा भने अरू पेचिलो बनेर प्रस्तुत हुने सम्भावना रहेको एमालेका एक नेताको दावी रहेको छ ।

ओलीको लाङटाङ यात्राबारे सोधीखोजी गर्दा उनले आफना नाम उल्लेख नगर्ने शर्तमा माओवादीले एमालेका साथ छोडेमा के कस्तो अवस्था आउने छ । त्यसपछिको रणनीतिक के कस्तो हुनेछ उक्त बारेमा गहन छलफलका लागि उनी त्यहाँ पुगेको बताए । यता रातोपाटीमा उल्लेखित एक समाचार अनुसार ओलीसँगै महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुबास नेम्बाङ र शंकर पोखरेल मात्र छन् । कोर टिमका प्रदीप ज्ञवाली गुल्मीबाट काठमाडौँ आउँदै गर्दा छुटेका छन् ।

पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री ओली हुने अभिव्यक्ति दिएपछि पोखरेल विवादमा तानिएका थिए । ओलीसहितका नेता अचानक लाङटाङ हिँडेपछि एमालेभित्र ठूलै भूकम्प पैदा भएको छ । खास गरेर, यो भूकम्प माधव नेपाल र झलनाथ खनाल खेमामा देखिएको छ । पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई भ्रमणबारे जानकारी थिएन । निर्वाचन गठबन्धनका सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि थाहा पाएनन् ।

ओलीसहितको टोलीले मुख्यतः चार वटा विषयमा रणनीति बनाउने स्रोतको दावी छ । माओवादीसँग एकता प्रक्रियामा अवलम्बन गरिने रणनीति, सरकार गठनसँगै पार्टी र सत्तामा शक्तिमान रहिरहने योजना निर्माणलगायतका विषयमा छलफल गर्न अध्यक्ष ओली आफ्ना विश्वासपात्रसहित लाङटाङ पुगेको एमालेकै एक नेताले बताए । स्रोतका अनुसार, राष्ट्रपतिका आकांक्षी वरिष्ठ नेता झलनाथ खनाललाई कसरी किनारा लगाउने विषय पनि लाङटाङको भ्रमणको एजेन्डा छ । असोज १७ गते राष्ट्रिय सभागृहमा भएको घोषणापछि पार्टी एकताका लागि बनाइएको टोलीमा रहेका खनाललाई हटाएर पछि महासचिव ईश्वर पोखरेललाई राखिएदेखि नै खनाल पार्टीमा किनारा पर्दै आएका छन् ।

उमेर पाक्दै गर्दा महासचिव, अध्यक्ष, वरिष्ठ नेता तथा प्रधानमन्त्री पद पाइसकेका खनालले राष्ट्रपतिमा दुई वर्षअघि पनि रहर गरेको एमाले स्रोत बताउँछ । यसपटक पनि खनालले त्यही पदमा आकांक्षा राखेपछि उनलाई किनारा लगाएर राष्ट्रपतिमा विद्या भण्डारीलाई नै दोहो¥याउने मुडमा ओली समूह लागेको पनि स्रोतले बतायो । यसो हुँदा बर्दियाबाट पराजित वामदेव गौतम चिढिनसक्ने देखिएपछि अध्यक्ष ओली गौतमलाई कुनै आकर्षक नियुक्तिको अफर गरेर अल्मल्याउने रणनीतिमा लागेको एमालेका एक पोलिटव्यूरो सदस्यले बताए ।

गौतम क्याम्पका १० सांसद बरिष्ठ नेता नेपाल वा झलनाथ खनालतिर लाग्नबाट रोक्न पनि अध्यक्ष ओलीले विशेष आकर्षक उपहार दिने तयारीमा छन् । नवौँ महाधिवेशनमा पनि संसदीय दलका नेता र कार्यबाहक पार्टी अध्यक्षको लोभ देखाएर गौतमलाई ओलीले आफूतिर पारेका थिए । यसो हुँदा बहुमत आफूसँग भएपछि ओली समूह सरकार र पार्टीमा पनि बलियो हुनेछ । अध्यक्षका आकांक्षी नेपाललाई एमालेभित्र थप दबाव बढ्नेछ ।

एमाले स्रोतका अनुसार नेपालपक्षधरका अधिकांश उम्मेदवार विजयी भएर आएको र मन्त्रीको माग भएपछि नेपाललाई कमजोर पार्न खनाललाई तह लगाउने, गौतम रिझाउने अनि नेपाल पक्षका केहीलाई मन्त्री बनाएर नेपाललाई नै समस्या पार्ने विषेश रणनीति तय गर्न ओली कोर टिमसहित लाङटाङ पुगेका हुन् । यसो गर्न सकिएमा पार्टी एकतापछि पनि शक्तिमा रहने अनुमान ओलीको छ ।

यसका लागि आफ्ना विश्वास पात्रहरुसहित आन्तरिक रणनीति तय गर्न लाङटाङ पुगेका हुन् । वाम गठबन्धन एक भएर निर्वाचनमा जाने भएपछि उम्मेदवारी टुंग्याउने क्रममा पनि यो समूहले गोप्य बैठक राखेको थियो । कात्तिक १६ गते उम्मेदवारी मनोनयन रहेकाले जितेर आउने उम्मेदवारहरु कुनै पनि हालतमा ओली समूहको भन्दा प्रचण्ड र माधव नेपाल पक्षधरको बढी नपरोस् भनेर कात्तिक ९, १० र ११ गते यो समूहले गोप्य बैठक गरेर नामावली तयार पारिएको थियो ।

तर, वामदेवका १० सांसदसहित नेपाल र ओली पक्षधर सांसद बराबरी भएपछि अर्को रणनीति बनाउन ओली लाङटाङ हानिएको आशंका गरिएको छ । एमालेका शीर्ष नेताहरुले रसुवागढी नाकाको निरीक्षण पनि गरेका छन् । टिमुरेमा आयोजितक कार्यक्रममा ओलीले भनेका छन्, ‘देशमा लामो समयको बलिदानी र संघर्षपछि तीव्र परिवर्तनको खाँचो छ । राष्ट्रसेवक र नेपाली जनताले आफ्नो बलिदानी परिवर्तनका लागि दिएकाले अव परिवर्तनको जरुरी छ ।’

प्रकाशित मिति: Dec 19, 2017

प्रतिक्रिया दिनुहोस्