Logo
१३ मंसिर २०८१, बिहीबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

IPL : काठमाडौं पराजित, ललितपुरको विजयी सुरुवात

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियोट्सले विजयी सुरुवात गरेको छ । सुखद सुरुवात गर्नेक्रममा ललितपुरले काठमाडौं किंग्स एलेवेनलाई ७ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं किंग्स एलेवेनले दिएको ९० रनको लक्ष्य ललितपुरले १६.३ ओभरमा ३ विकेट गुमाएर भेटायो ।

प्रतियोगिता अन्तर्गत मंगलबार बिहान चितवन टाइगर्स र पोखरा राइनोज तथा दिउँसो विराटनगर वारियर्श तथा ललितपुरबीच खेल हुनेछ । ललितपुरका भारतीय खेलाडी जयकिसन कोल्सावालाले सर्बाधिक नटआउट ४४ रनको पारी खेले । ४७ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २० तथा राजबिर सिंहले १४ रन जोडे ।त्यसअघि काठमाडौंले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा अलआउट भएको थियो । काठमाडौंका श्रीलंकन खेलाडी अक्क्षु फर्नान्डोले २ तथा जितेन्द्र मुखिया १ विकेट लिए ।

काठमाडौंका अमित श्रेष्ठले सर्बाधिक २७ रन बनाए। उनीसँगै श्रीलंकन खेलाडी अक्क्षु फर्नान्डोले १५, सोमपाल कामीले १४, कप्तान फरवेज महारुफ र सागरकुमारले समान ७ रन जोडे । काठमाडौंले सुरुवात देखि नै लगातार आफ्ना विकेट गुमाइरह्यो । ओपनर सागर पुन (४) दोस्रो ओभरमा ललितपुरका भारतीय खेलाडी सुबोधकुमार भाटीको बलमा अर्का भारतीय विकेटकिपर जयकिसन कोल्सवालाको हातबाट क्याच भए ।

दोस्रो विकेटका लागि क्रिजमा आएका नरेश बुढाऐरलाई मेहबुब आलमले विकेटकिपर कोल्सवालाकै हातबाट शुन्य रनमा पवेलियन फर्काए । तेस्रो विकेटका रुपमा काठमाडौंका कप्तान तथा श्रीलंकाली खेलाडी फरवेज महारुफले ३.५ ओभरमा सुबोधको बलमा सिधा छक्का प्रहार गर्दै टोलीलाई आशा जगाएका थिए तर अर्को ओभरमा मेहबुब आलमले पवन सरार्फको हातबाट क्याच गराउँदै ७ रनमा महारुफलाई पवेलियन फर्काए ।

 

@फोटो सौजन्य : क्रिकेटिङ नेपाल

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्