Logo
११ पुस २०८१, बिहीबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माग र आपूर्तीको ब्यालेन्स नमिलेपछि लोडसेडिङ बढ्दै, उद्योग क्षेलाई मार पर्ने

काठमाडौं । यो वर्षको हिउँदमा कुल १ हजार ३ सय ८० मेगावाट विद्युत् माग रहनेछ । यसमध्ये देशभित्रको उत्पादन तथा भारतबाट गरिने आयात गरी प्रणालीमा केवल १ हजार ५० मेगावाट मात्र विद्युत् उपलब्ध हुनेछ । यसका कारण अपुग रहेको ३ सय ३० मेगावाट लोडशेडिङ उद्योगमा हुनेछ । हाल उद्योगमा ३ सय १० मेगावाटबराबरको लोडशेडिङ रहेको छ ।

आगामी दिनमा उद्योगक्षेत्रमा लोडशेडिङ २० मेगावाट थप हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको हिउँद समयको उपलब्ध विद्युत् तालिकाका आधारमा उक्त परिमाणमा लोडशेडिङ थपिने भएको हो ।

१ वर्ष अघिबाट शुरू भएको लोडशेडिङ अन्त्यको अभियानले विद्युत्को गार्हस्थ्य उपभोगमा सहजता ल्याए पनि उद्योगमा भने लोडशेडिङ कायमै छ । तर, हाल उद्योगमा रहेको लोडशेडिङ पनि विगतको तुलनामा निकै कम हो । दैनिक १८ देखि २० घण्टासम्म लोडशेडिङको मार खेपेका धेरैजसो उद्योग हाल साँझ तथा बिहानको पीक आवरमा मात्र लोडशेडिङ बेहोरिरहेका छन् ।

‘यो वर्ष नदीहरूमा छिट्टै नै जल प्रवाहमा कमी आएको छ,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भन्छन्, ‘प्रणालीमा भएसम्म विद्युत् व्यवस्थापन गरी सबैखालका ग्राहकलाई सेवा दिन हामी लागिपरेका छौं ।’ गतवर्षको यही समयको तुलनामा यो वर्ष प्राधिकरणकै आयोजनाहरूबाट हुने विद्युत् उत्पादनमा मात्रै पनि ४० मेगावाटले कमी आइसकेको छ । विगत वर्षको तुलनामा यो वर्ष छिट्टै चिसो बढ्नाले हिमालमा हिउँ पग्लिने दरमा कमी आई त्यसको असर विद्युत् उत्पादनमा परेको प्रवक्ता अधिकारी बताउँछन् ।

कालीगण्डकी जलविद्युत् आयोजनाको १ सय ४४ मेवाबाट पोहोर यसै समयमा १ सय २६ दशमलव ९ मेगावाट विद्युत् उत्पादन भएकोमा यो वर्ष २२ दशमलव २ मेगावाटले कमी आई १ सय ४ दशमलव ७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । मस्र्याङ्दी जलविद्युत् आयोजनाको ६९ मेवाबाट गतवर्ष यति बेला ६६ दशमलव ४ मेगावाट उत्पादन आइरहेकोमा हाल ९ दशमलव ६ मेगावाटले कमी आई ५६ दशमलव ८ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । त्यसैगरी मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको ७० मेवाबाट ५१ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । यो परिमाण गतवर्ष यसै समयको तुलनामा ८ दशमलव २ मेगावाटले कम हो ।

हिमालयमा आधारित अधिकांश आयोजनाको अवस्था अहिले उल्लिखित आयोजनाहरू जस्तै रहेको छ ।

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्